काठमाडौं - भारतको सबैभन्दा ठुलो विमान कम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेको छ । इन्डिगोले उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएका छन् । ठुलो सङ्ख्यामा उडान रद्द भएपछि हजारौँ यात्रुहरू अलपत्र परेका छन् ।
कम्पनीले अवरोधलाई प्राविधिक त्रुटि, प्रतिकूल मौसमी अवस्था र कामदारहरूको लागि नयाँ नियमलगायतका ‘अप्रत्याशित परिचालन चुनौती’ का कारण समस्या भएको जनाएको छ ।
भारतको उड्डयन निगरानी निकायले अनुसन्धानको आदेश दिएको छ र सोमबारदेखि जारी अवरोधलाई कम गर्ने योजनाका साथ इन्डिगोलाई प्रतिक्रिया दिन निर्देशन गरेको छ ।
बुधबारसम्म इन्डिगोका एक हजार २३२ उडान रद्द गरिएको कम्पनीले जनाएको छ । तर कति विमानको उडानमा ढिलाइ भयो भन्नेबारे कुनै सङ्ख्या स्पष्ट छैन ।
कम्पनीले ‘उल्लेख्य रूपमा’ यसका विमानको उडान कार्यक्रम अवरोध हुनुमा आंशिक रूपमा नयाँ ‘क्रू रोस्टरिङ’ नियमसँगसँगै अन्य प्राविधिक कारणहरू जिम्मेवार रहेको उल्लेख गरेको छ ।

