काठमाडौं - नक्कली विद्यावारिधि उपाधिको कागजातका आधारमा नियुक्ति लिएको भन्दै त्रिभुवन विश्वविद्यालयका सह-परीक्षा नियन्त्रकसहित छनोट समितिका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार त्रिभुवन विश्वविद्यालयको सह-परीक्षा नियन्त्रक छनोट समितिका संयोजक प्रा. डा. जया लक्ष्मी प्रधानसहित सदस्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगले छनोट समितिका सदस्यहरू प्रा. डा. मोतिलाल शर्मा, प्राडा.मेघराज पोख्रेल र तत्कालीन सह-परीक्षा नियन्त्रक (सह-प्राध्यापक) डिल्लीराम प्रसाईंउपर बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनीहरूले सह-परीक्षा नियन्त्रक पदका लागि लिएको परीक्षामा परिणाम हेरफेर गरेको, गलत प्रतिवेदन, परीक्षाको परिणाम फेरबदल र नपाएको ओहदा पाएको भनी भ्रष्टाचार गरेको अभियोगपत्रमा उल्लेख छ ।
त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पूर्वाञ्चल, विराटनगरको सह-परीक्षा नियन्त्रक डिल्लीराम प्रसाईंले आफूसँग नभएको योग्यता पीएचडी (विद्यावारिधि) पाएको भनी विवरण पेस गरी लाभ लिएको अभियोगपत्रमा उल्लेख छ ।
सह-परीक्षा नियन्त्रकको लागि लिइएको परीक्षामा सह-परीक्षा नियन्त्रक छनोट समितिका संयोजक प्राडा. जया लक्ष्मी प्रधान, सदस्यहरू प्राडा. मोतिलाल शर्मा र प्राडा. मेघराज पोख्रेलले त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्ड सम्बन्धी विनियम बमोजिम छनोटको ९ वटा आधारमा परीक्षाको परिणाम गणना गरी नियुक्तिको सिफारिस गर्नुपर्नेमा नगरेको अभियोगपत्रमा उल्लेख छ ।
सह-परीक्षा नियन्त्रक पदका आवेदक डिल्लीराम प्रसाईंसँगको मिलेमतो तथा योजनामा बदनियत राखी प्रसाईंले विद्यावारिधि सम्पन्न नगरेको भनी पेस गरेको ८ अंक झुट्टा विवरणको आधारमा दिन लगाई परीक्षाको परिणाम फेरबदल गरेको अभियोगपत्रमा उल्लेख छ ।

