काठमाडौं - प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले पदोन्नति भएका तीन जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कार्कीले उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ मंसिर ८ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा १ जना, नेपाल सरकार गृहमन्त्रीस्तरको २०८२ मंसिर ८ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा १ जना र प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकबाट प्राविधिक प्रहरी नायव महानिरीक्षक पदमा १ जना गरी जम्मा ३ जना प्रहरी अधिकृतहरू पदोन्नति भएका थिए ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की तथा प्रहरी नायव महानिरीक्षक विश्व अधिकारी र प्राविधिक प्रहरी नायव महानिरीक्षक ई. राम कुमार चौधरी रहेका छन् ।
दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
जेष्ठता, कार्यकुशलता, विधि एवम् पद्धतिका साथै व्यावसायिक निष्ठाका साथ निर्वाह गरेको जिम्मेवारीको मूल्यांकनको आधारमा पदोन्नति भएको चर्चा गर्दै पदोन्नति भएका प्रहरी अधिकृतहरूको नेतृत्वदायी भूमिका र नेतृत्व क्षमताबाट प्रहरी सेवामा प्रभावकारी योगदान पुग्ने विश्वास उनले व्यक्त गरे ।

