रौतहट - पर्साको पकाहामैनपुरबाट स्रोत नखुलेको १५ लाख रकम सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पकाहामैनपुर गाउँपालिका वडा नं.१ मा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले जाँच गर्ने क्रममा रकम सहित पक्राउ गरेको हो ।
पकाहामैनपुर गाउँपालिका वडा नं.१ धोरे बस्ने ३४ वर्षीय अवधेश पटेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसारब बिआर२२ एफ४१२६ नम्बरको मोटरसाइकलको लेग गार्डमा पंकज मसला लेखिएको झोलाभित्र कालो प्लास्टिकमा बेरिएको अवस्थामा रकम बरामद भएको हो ।
मोटरसाइकल सहित उनलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । सो रकम हुण्डी कारोबारका लागी ल्याइएको हुन सक्ने आशा गरिएको छ । नेपालमा हुण्डी मार्फत रकमान्तर गर्नु वा विप्रेषण गर्नु गैर कानुनी कार्य मानिन्छ ।

