पर्सा - वीरगन्ज महानगरपालिका–१६ लिङ्करोडस्थित होटल अमन प्यालेसबाट करिब एक सय ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ परेका छन्।
भारत घर बताउने करिब ३५ वर्षीय विशाल कुमार कुशवाहालाई लागूऔषध कारोबार गरिरहेको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरीले पक्राउ गरेको हो।
एपीएफ इन्टेलिजेन्स ब्युरोको सूचनापछि सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साबाट सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र साउदको कमान्डमा खटिएको टोलीले कुशवाहालाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार कुशवाहाले उक्त ब्राउन सुगर भारतको रक्सौल नाका हुँदै नेपाल ल्याएको बताएका छन्। उनको साथबाट प्रयोग गरिएको बीआर ०५ बीएस ०४१९ नम्बरको मोटरसाइकल तथा नेपाली र भारतीय रुपैयाँसमेत बरामद गरिएको छ।
पक्राउ परेका कुशवाहालाई बरामद लागूऔषध तथा अन्य सामानसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

