धनकुटा - धनकुटाको साँगुरीगढी गाउँपालिका–७ फेदीबाट ठूलो परिमाणमा लागूऔषध गाँजासहित ट्रक बरामद गरिएको छ।
कोशी लोकमार्गअन्तर्गत फेदी क्षेत्रमा बुधबार राति करिब ११ बजे मुलघाटबाट खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त चेकिङ टोलीले १ हजार २४० किलो ६ सय ग्राम गाँजा बरामद गरेको हो।
प्रहरीका अनुसार धनकुटाबाट भेडेटारतर्फ जाँदै गरेको ना.४ ख ५२७ नम्बरको ट्रकलाई चेकजाँचका लागि रोक्ने क्रममा चालक ट्रकबाट हाम फालेर फरार भएका थिए।
चालक फरार भएपछि ट्रक शंकास्पद लागेर प्रहरीले ट्रकको खानतलासी गरेको थियो। चेकजाँचका क्रममा ट्रकभित्र लुकाइराखिएको अवस्थामा ठूलो परिमाणमा लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजा र ट्रकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको छ। फरार रहेका चालकको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ।
घटनामा गाँजा कहाँबाट ल्याइएको थियो र कहाँ लैजान लागिएको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। लागूऔषध ओसारपसारमा अन्य व्यक्तिको समेत संलग्नता भए–नभएकोबारे अनुसन्धान भइरहेको जनाइएको छ।

