गृह मन्त्रालयले आज बाराको सिमरामा भएको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै स्थिति सामान्य बन्दै गएको जनाएको छ । आज साँझ एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले उक्त घटनाबाट सिर्जित अवस्थालाई नियन्त्रणमा लिइ स्थिति सामान्य बनाउँदै शान्तिसुरक्षा कायम गर्न स्थानीय प्रशासनले आवश्यक पहल गरिरहेको र स्थिति सामान्य हुँदै गएको जनाएको हो ।
देश–विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
बारामा कर्फ्यु: नेकपा एमालेका नेता महेश बस्नेतले बाराको सिमरा एयरपोर्टमा ‘जेन–जेड’को अराजक भिड उतारेर आन्दोलन गराउने र ५०–६० जना संलग्न त्यति सामान्य घटनालाई नियन्त्रण गर्न नसकेर कर्फ्यु लगाउनु नैतिकरूपमा गलत भएको आरोप लगाएका छन् । बुधबार राष्ट्रिय युवा संघ नेपालको मधेश जागरण सभामा बारा जान लागेका बस्नेतलगायत नेताहरू एयरपोर्टबाटै फर्काइएपछि बस्नेतले यस्तो बताएका हुन् । बस्नेतको विरोधमा जेनजीले प्रदर्शन गरेपछि बारामा कर्फ्यु आदेश जारी गरिएको छ । मध्यान्ह १२:३० बजेदेखि बेलुका ८ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिए ।
झापाबाट चुनाव लड्दिनँ: २१ फागुनमा हुने निर्वाचन नलड्ने प्रधानमन्त्री सुशीला कार्की स्पष्ट पारेकी छन् । बुधबार राजनीतिक दलहरूसँग सिंहदरबारमा भएको छलफलपछि समापन मन्तव्य राख्ने क्रममा उनले आफूलाई झापाबाट चुनाव लड्न भन्ने गरेको भए पनि आफू त्यसतर्फ नलाग्ने प्रस्ट पारिन् । “मलाई झापामा चुनाव लड्न आऊ भनेको पनि सुनेको छु । म चुनाव लड्दिनँ । चुनाव लड्न आएको पनि होइन‚” उनले भनिन् । आफूहरू चुनाव गराउनै आएको भएकाले चुनापछि यो देश नयाँ पुस्ताको हातमा जाओस् भन्ने चाहेको पनि बताइन् ।
लगानी बोर्डको निर्णय: लगानी बोर्डले ४३९ मेगावाटको बेतन कर्णालीको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ । बुधबार बसेको बैठकले लगानी स्वीकृत गरी परियोजना विकास सम्झौताको लागि वार्ता समिति गठन गर्ने निर्णय गरको हो । बैठकले गत आर्थिक वर्ष २०८१/०८२ को लगानी बोर्डको कार्यालयको प्रगति समीक्षा गर्दै चालु आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्ययोजना स्वीकृत गर्यो। साथै, तल्लो अरुण जलविद्युत परियोजना (६६९ मेगावाट) को उत्पादन अनुमतिपत्रको मस्यौदा स्वीकृत गरी अनुमतिपत्र जारी गर्न लगानी बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि गरेको छ ।
एमसिसी नेपाल कम्प्याक्ट: नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले एमसिसी नेपाल सम्झौतामा अमेरिकाले पाँच करोड अमेरिकी डलर (करिब सात अर्ब रुपैयाँ) को अनुदान रकम थप गर्ने घोषणा गरेका छन् । यससँगै उक्त सम्झौताअन्तर्गत उपलब्ध कूल रकम ७४ करोड ७० लाख अमेरिकी डलर (करिब एक खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ, जसमा अमेरिाको ५५ करोड डलर र नेपाल सरकारको १९ करोड ७० लाख डलर रहने छ । यो थप स्रोतले प्राथमिकता प्राप्त विद्युत् प्रसारण पूर्वाधारलाई पूर्ण बनाउने, नेपालको ऊर्जा प्रणालीको सुदृढीकरण गर्ने र क्षेत्रीय ऊर्जा व्यापारको अभिवृद्धिलाई सम्भव बनाउनेजस्ता सो सम्झौताका मुख्य उद्देश्यहरू पूरा गर्न मद्दत गर्नेछ । ऊर्जा ग्रिडको विश्वसनीयता र बजार पहुँचमा सुधार गरी यस सम्झौताले अन्तरराष्ट्रिय ‘कनेक्टिभिटी’मा सहयोग पुर्याउने र ऊर्जा पूर्वाधारमा अमेरिकी उत्कृष्टता तथा असल अभ्यासहरूको प्रवद्र्धन गर्ने अपेक्षा राखिएको छ ।
एकता निर्णायक दिशामा: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) बीचको एकता वार्ता निर्णायक दिशातर्फ अगाडि बढेको छ । नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी वार्ता सकारात्मक मोडमा अघि बढेको वार्तामा सहभागी नेकपाका नेता देव गुरुङले जानकारी दिए । वार्तामा नेकपाका तर्फबाट गुरुङसहित नेताहरू प्रमेश हमाल, वेदुराम भुसाल, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, प्रकाश ज्वाला सहभागी थिए । जसपा नेपालका तर्फबाट नेताहरू राजेन्द्र श्रेष्ठ, रेणु यादव , रणध्वज कन्दङ्वा, परशुराम बस्नेतलगायत सहभागी छन् ।
सुदुरपश्चिमको विजयी सुरूवात: सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा विजयी सुरुआत गरेको छ । काठमाडौंलाई आजको खेलमा सुदूरपश्चिमले २९ रनले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १४७ रनको लक्ष्य पछ्याएको काठमान्डौं १६.५ ओभरमा सबै विकेट गुमाएर ११८ रनमा अलआउट भयो । उसका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ३४ रन बनाए । यस्तै जोन सिम्पसोनले २४, भीम शार्कीले १२ र मिलिन्द कुमारले ११ रन जोडे । सुदूरपश्चिमका लागि बलिङमा स्कट कुगेलेइन, हेमन्त धामी र हर्मित सिंहले २-२ विकेट लिए । यस्तै इशान पाण्डे, नरेन साउद र अविनाश बोहराले समान एक/एक विकेट लिए ।

