काठमाडौं - नेकपा एमालेका नेता महेश बस्नेतले बाराको सिमरा एयरपोर्टमा ‘जेन–जेड’को अराजक भिड उतारेर आन्दोलन गराउने र ५०–६० जना संलग्न त्यति सामान्य घटनालाई नियन्त्रण गर्न नसकेर कर्फ्यु लगाउनु नैतिकरूपमा गलत भएको आरोप लगाएका छन् ।
बुधबार राष्ट्रिय युवा संघ नेपालको मधेश जागरण सभामा बारा जान लागेका बस्नेतलगायत नेताहरू एयरपोर्टबाटै फर्काइएपछि बस्नेतले यस्तो बताएका हुन् ।
बस्नेतको विरोधमा जेनजीले प्रदर्शन गरेपछि बारामा कर्फ्यु आदेश जारी गरिएको छ । मध्यान्ह १२:३० बजेदेखि बेलुका ८ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिए ।
सभा–सम्मेलन गर्न पाउने, स्वतन्त्र विचार राख्न पाउने जस्ता संविधानले दिएको मौलिक अधिकारहरू हनन गरेर दलहरूको गतिविधि रोक्ने सरकारले फागुन २१ मा चुनाव गराउँछु भनेर दाबी गर्नु हास्यास्पद रहेको उनले बताए ।
‘हे कठपुतली सरकार , लोकतन्त्र, बिधीको शासन र सुशासनको अझ कति खिल्ली उडाउने हो? नियत स्पष्ट भइसकेको छ। जनता सबै बुझिसकेका छन्। हामी यस प्रकारका अवरोधले विचलित हुँदैनौँ’ बस्नेतले भने ।
उनले लोकतन्त्र, कानुनी शासन र सुशासनको पक्षमा हाम्रो संघर्ष निरन्तर जारी रहने बताए ।

