Harsamaya
सर्लाहीमा खैरो हिरोइनसहित दुई भारतीय पक्राउ
सांकेतिक तस्विर: हर समय/Har Samaya

सर्लाही - सर्लाहीको पर्सा गाउँपालिका–२, संग्रामपुर क्षेत्रबाट प्रहरीले प्रतिबन्धित लागुऔषध खैरो हिरोइन जस्तै देखिने पदार्थसहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गत शुक्रबार दिउँसो करिब ३:३० बजे प्राप्त विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा भारत बिहारको सीतामढी जिल्लास्थित सोनवर्षा थानाअन्तर्गत कोबरवा गाउँका २२ वर्षीय तशिफ शेख र सोही जिल्लाको बेला पंचायत, लहुरिया वडा नं. १०, खुर्साहा टोल निवासी १९ वर्षीय फरहान राजा रहेका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार तशिफ शेखले लगाएको अण्डरवेयरभित्र लुकाइएका झण्डै १२ ग्राम बराबरका लागुऔषधजन्य पदार्थ बरामद गरिएको हो ।

साथै उनीहरूको साथबाट एक पोकामा राखिएको सामग्री र रियलमी ब्रान्डका दुई मोबाइल फोन पनि प्रहरीले बरामद गरेको छ । पक्राउ परेका दुवैलाई आज सर्लाही जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  ०८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update