काठमाडौं - सर्वोच्च अदालतमा मधेस प्रदेशको मुख्यमन्त्री सरोज यादवको नियुक्ति प्रक्रियाविरुद्धको रिटमा आजका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा मधेस प्रदेशको मुख्यमन्त्रीकी नियुक्ति प्रक्रियाविरुद्ध ७४ जना सांसदहरूले दायर गरेको रिटमा पेसी तोकीएको हो ।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकारविरुद्ध मधेस प्रदेशका ७४ सांसदहरूले अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । गत मंगलबार मधेस प्रदेशका ७४ सांसदले मुख्यमन्त्री यादवको नियुक्तिविरुद्ध दायर गरेको रिटमा यसअघि अदालतले यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम नगर्न आदेश दिइसकेको छ ।
न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले मङ्गलवार मुख्यमन्त्री यादवलाई मधेस प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने कुनै नीतिगत निर्णय नगर्न आदेश गरेको हो ।
रिट निवेदनको संवेदनशीलता, सार्वजनिक महत्वको संवैधानिक प्रत्र र छिटो छरितो ढुङ्गो लगाउनु पर्ने प्रकृतिको देखिँदा कुनै पनि पक्षले पेसी स्थगित गर्न नपाउने गरी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७३ बमोजिम अग्राधिकार दिई अन्तिम सुनुवाइको लागि मङ्सिर ११ गते बोलाइएको आदेशमा उल्लेख छ ।

