Harsamaya
मकवानपुरमा गोली हानी गोलेको हत्या, थोकर पक्राउ
प्रतिकात्मक तस्वीरः हर समय/harsamaya

हेटौँडा - मकवानपुरको राक्सिराङ गाउँपालिका-१, कोलगैरीमा शुक्रबार (कात्तिक २८) एकजनाको गोली हानी हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, स्थानीय ६४ वर्षीय ठूले गोलेको गोली हानी हत्या भएको हो । ठकुरीडाँडास्थित कुलदेवी मन्दिरका पुजारीसमेत रहेका गोलेको गोली लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता राजुप्रसाद कुर्मीले जानकारी दिए । गोलेको हत्या आरोपमा स्थानीय ७५ वर्षीय इमानसिंह थोकरलाई पक्राउ गरिएको निमित्त प्रवक्ता कुर्मीले बताए ।

घटनाको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय मनहरी र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले घटनास्थलभन्दा एक किलोमिटर कोलगौरीमा लुकिछिपी बसिरहेको अवस्थामा थोकरलाई पक्राउ गरिएको उनले बताए ।

पक्राउ परेका थोकरको साथबाट कटुवा पेस्तोल एक थान, पेस्तोलमा लाग्ने दुई राउन्ड गोली, खोका एक थान र १९० ग्राम गनपाउडर बरामद भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा पुरानो रिसिइबीका कारण थोकरले गोलेको गोली हानी हत्या गरेको प्रहरीको भनाइ छ । 

सुन्धारा कारागारबाट फरार एक कैदी पक्राउ

जेनजी आन्दोलनका क्रममा काठमाडौंस्थित सुन्धारा कारागारबाट फरार भएका एक कैदीलाई आज मकवानपुर प्रहरीले पक्राउ गरेको छ । सुन्धारा कारगारबाट फरार मनहरी गाउँपालिका–६ निवासी ६१ वर्षीय सीताराम थिङलाई पक्राउ गरिएको निमित्त प्रवक्ता कुर्मीले जानकारी दिए।

थिङ वन्यजन्तु बेचबिखन तथा ओसारपोसार मुद्दामा अदालतबाट १५ वर्ष कैद र रु १० लाख जरिवानाको सजाय पाई सुन्धारा कारागारमा कैद सजाय भोगिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  २१:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update