बाजुरा - बाजुराको बुढीगंगा नगरपालिकाका स्वास्थ्य संस्था अहिले एक जना स्वास्थ्यकर्मीको भरमा चल्दै आएका छन् । पालिकाका दशवटै वडाका स्वास्थ्य संस्था एक जना कर्मचारीको भरमा चलाउनुपर्ने बाध्यता छ ।
पहिले सबै स्वास्थ्य संस्थामा एक जना अहेव, दुई जना अनमी र एक कार्यालय सहयोगीले गरी चार जना कर्मचारी रहेकोमा अहिले एक जनाको भरमा स्वास्थ्य संस्था चलेका हुन् ।
कार्यपालिकाको ४९ औँ बैठकले ४६ जना करार अस्थायी तथा ज्यालादारीमा राखेर काम गर्दै आएका झन्डै ४६ जना स्वास्थ्यकर्मी हटाएपछि अहिले ती स्वास्थ्य संस्था एक जनाको भरमा चलाउनु परेको हो ।
एक/एक जनाको भरमा स्वास्थ्य संस्था चलाउन पालिकालाई अहिले हम्बेहम्बे भएको छ । स्थानीयहरूले घण्टौँ हिँडेर सेवा लिनुपर्ने बाध्यता छ । पहिले स्वास्थ्यकर्मी स्थानीयको घरदैलोमै पुग्ने गरेकोमा अहिले सेवा दिनै समस्या हुने गरेको छ ।
स्वास्थ्य संस्थामा पुग्ने स्थानीयले अहिले राम्रोसँग सेवा नपाउने गरेका छन् । अहिले स्वास्थ्य संस्थामा आउने सेवाग्राहीलाई सेवा दिन समस्या भएको बुढीगंगा नगरपालिका–७ झाली बर्थिङ्ग सेन्टरमा कार्यरत बिनिता विष्टले बताइन् ।
स्वास्थ्य संस्था एक जना कर्मचारीको भरमा चल्दा सेवा प्रवाहमा समस्या भएको उनले बताइन् । कतिपय सुत्केरी व्यथा लागेकी महिला स्वास्थ्य संस्थामा आउन नसक्ने हुँदा उनीहरूकै घरमा गएर सेवा दिनु परेको उनको भनाइ छ ।
प्रदेश सरकारले अस्थायी कर्मचारी हटाउने निर्देशन दिएसँगै पालिकाले करारका सबै कर्मचारी हटाउँदा अहिले सेवा प्रवाहमा असहज भएको हो । प्रदेश सरकारको निर्देशन अनुसार नियम रूपमा हामीले कर्मचारी हटाएको हुँदा बढी जसो स्वास्थ्य संस्था प्रभावित बनेको नगर प्रमुख राम बहादुर बानियाँले बताए ।

