Harsamaya
कात्तिक २५ : दिनभरका घटनाक्रम एक नजरमा
ग्राफिक्सः हर समय/harsamaya

सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई दीर्घकालीन प्रभाव पर्ने काम नगर्न आदेश दिएको छ । मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मुख्यमन्त्री यादवलाई मधेश प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने कुनै नीतिगत निर्णय नगर्न आदेश गरेको हो । सुजित यादव र रकी प्रसाद साहले सोमबार दायर गरेको रिटमा सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो ।

देश–विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।

आयोगले थाल्यो दुई सिफ्टमा काम

निर्वाचन आयोगले मतदाता नामावली दर्तास्थलमा सेवाग्राहीको चाप बढेपछि थप जनशक्ति र सिफ्टको व्यवस्था गरेको छ । आयोगले मंगलबार विज्ञप्ती जारी गर्दै दैनिक ८०० भन्दा बढी नाम दर्ता भइरहेका जिल्लामा बिहान र दिउँसो गरी ६/६ घण्टाको दुई सिफ्टमा सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको छ ।विशेषगरी काठमाडौं उपत्यकाका तीन जिल्ला अर्थात् काठमाडौं, ललितपुर र भक्तपुरमा देखिएको चापलाई सम्बोधन गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट १४ जना थप कर्मचारी खटाइएको आयोगका प्रवक्तासमेत रहेका सहसचिव नारायण प्रसाद भट्टराईले जारी गरिएको विज्ञप्तीमा लेखिएको छ ।

कर्णले लिए पद तथा गोपनीयताको शपथ

मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पद तथा गोपनियताको शपथ लिएका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा उनलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कर्णलाई मधेस प्रदेश प्रमुखमा नियुक्त गरेको थियो । सरकारले सुमित्रा सुवेदी भण्डारीलाई बर्खास्त गरी कर्णलाई प्रदेश प्रमुख नियुक्त गरेको हो ।

निजी क्षेत्रको पुनर्निर्माणमा ५० प्रतिशत बीमा अग्रिम लागू

अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रहरु बीमा कम्पनीहरुबाट ५० प्रतिशत अग्रिम भुक्तानी लिएर पुर्ननिमार्ण गर्ने काम प्रारम्भ गरिरहेको जानकारी गराएका छन् । मंगलबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले निजी क्षेत्रले आफ्नो सम्पतीको पूर्न निमार्ण सुरु गरिसकेको जानकारी गराएका हुन् । उनले बीमा कम्पनीहरुबाट २ अरबको क्यास एड्भान्स भुक्तानी गरिसकेको र त्यसबाट कतिपय व्यवसायिहरुले व्यवसायिक काम नै प्रारम्भ गरेको बताए ।

६८ करोड भन्दा बढी भुक्तानी

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बिमा कम्पनीहरूमा परेको कुल बिमा दाबीमध्ये तीन अर्ब ६८ करोड ४१ लाख रुपैयाँ भुक्तानी गरेका छन् । कुल २३ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ दाबी परेको छ । नेपाल बिमा प्राधिकरणमा निर्जीवन बिमा कम्पनीहरूबाट प्राप्त पछिल्लो तथ्यांकअनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानीसमेत गरी उक्त रकम भुक्तानी भएको हो । कुल दाबी रकममध्ये सम्पत्ति बिमातर्फ ६९३ वटा दाबीको दाबी रकम करिब १९ अर्ब चार करोड नौ लाखमध्ये दुई अर्ब ९२ करोड ८६ लाख रुपैयाँ र मोटर बिमातर्फ दुई हजार २९० वटा दाबीको दाबी रकम तीन अर्ब ४७ करोड सात लाखमध्ये ६८ करोड ६१ लाख रुपैयाँ भुक्तानी भएको छ ।

अस्थायी कर्मचारी कटौती

नेपाल वायु सेवा निगमले काममा सक्रिय नभएका करार तथा मासिक ज्यालादारीका कर्मचारी कटौती गर्न सुरु गरेको छ । निगमले सञ्चालन गर्दै आएका आन्तरिक स्टेशनहरूमध्ये हाल उडान सञ्चालनमा नरहेका आन्तरिक स्टेशन तथा उडान सञ्चालन रहेका आन्तरिक स्टेशनबाट हुने उडान सङ्ख्यालाई मध्यनजर गरी कर्मचारी कटौती गर्दै लाने नीतिअनुरूप करार तथा मासिक ज्यालादारीका कर्मचारी कटौती गर्न सुरु गरेको जनाएको छ ।

महिला क्रिकेट टोली भारत प्रस्थान

नेपाल महिला राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान गरेको छ । उत्तराखण्ड क्रिकेट एशोसिएसनको आयोजनामा यही कात्तिक २७ गतेदेखि मङ्सिर ३ गतेसम्म भारतको देहरादुनमा स्थानीय टोलीसँग मैत्रीपूर्ण खेल खेल्न उक्त टोली भारत प्रस्थान गरेको हो । महिला टोलीलाई जिल्ला क्रिकेट संघ कञ्चनपुरले आज एक कार्यक्रमबीच बिदाइ गरेको हो । देहरादुनमा हुने सो प्रतियोगितामा नेपालले भारतको राजस्थान, पश्चिमबङ्गाल र उत्तराखण्डसँग ६ खेल खेल्ने तालिका रहेको नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्य वीरेन्द्रबहादुर चन्दले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  २२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update