भारतको बिहार राज्यमा हुने दोस्रो चरणको विधान सभा निर्वाचनका लागि रौतहटको नेपाल-भारत सीमा क्षेत्रमा आवागमन बन्द गरिएको छ । भारतको बिहार राज्य सितामढी तथा पुर्वी चम्पारणका जिल्लामा कात्तिक २५ गते (नोभेम्बर ११ तारेख) का दिन दोस्रो चरणको विधान सभा निर्वाचन हुन लागेकाले शान्ति सुरक्षा व्यवस्थापनका लागी सीमा नाका बन्द गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए । उनका अनुसार कात्तिक २५ गते ६:०० बजे सम्म नेपाल-भारत सीमा नाका बन्द हुने छ ।
देश–विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
ओलीको मागैमाग
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई स्थान हद तोक्ने, राहदानी रोक्का गर्ने र युवा सङ्घलाई शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन आग्रह गरेका छन् । राष्ट्रिय युवा सङ्घको केन्द्रीय कमिटीको तेस्रो बैठकलाई आज सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले आफूहरूले लोकतन्त्रका लागि लडेर ल्याएका हक अधिकारलाई उपभोग गर्न पाउनुपर्ने माग गरे । प्रशासन र प्रहरीलाई पूर्व जानकारी दिएर शान्तिपूर्ण प्रदर्शन गर्न अनुमति दिइनुपर्ने उनको भनाई छ ।
५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग
पहिलो संविधान सभाका चार सभा सदस्यसहितको टोलीले निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग गरेको छ। रेणु चन्द, डा बिन्दा पाण्डे, अमृता थापामगर, सुनिलबाबु पन्तलगायतको टोलीले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ नै ५० प्रतिशत महिला उम्मेदवार उठाउन कानुनमै सुनिश्चित गर्नुपर्ने माग गरेको हो । संविधानले समानुपातिक समावेशीको सिद्धान्त अवलम्बन गरेको भए पनि निर्वाचन कानुनले संविधानको यो मर्म आत्मसात् गर्न नसकेकाले अध्यादेश ल्याएर भए पनि सच्याउनुपर्ने टोलीको माग छ।
खोजी कार्य स्थगित
दोलखाको रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ रि हिमाल आरोहणका क्रममा गत सोमबार परेको हिमपहिरोमा बेपत्ता भएका आरोहीहरूको खोजीकार्य स्थगित गरिएको छ । बेपत्ता सात जनामध्ये दुई जनाको मात्र शव फेला परेको छ भने बाँकी पाँच जनाको अवस्था अझै अज्ञात रहेको छ । खोज तथा उद्धार टोलीका कमाण्डर पासाङ किदर शेर्पाका अनुसार अब हिउँ निकै कडा भएको र त्यसलाई खन्न असम्भव देखिएकाले हाललाई खोजीकार्य स्थगित गर्ने निर्णय गरिएको हो । दुई नेपालीसहित पाँच जना हिमपहिरोमा पुरिएर हराइरहेका छन्, अब उनीहरु जिवित रहने सम्भावना छैन । खोजीको क्रममा भेटिएका दुई शवमध्ये एक फ्रान्सका मेनफेडी क्रिस्टिना एन्ड्रे र अर्को इटलीका पाउलो कोको रहेको पुष्टि भएको छ । हराएकाको यो सिजनमा खोजी सम्भव नभएको उद्धार टोलीले जनाएको छ ।
नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई
नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई दिएको छ । राष्ट्र बैंकले एक सुचना जारी गर्दै चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाइ एक हजार रुपैयाँ दरका नयाँ नोटा छाप्न ठेक्का दिएको जानकारी दिएको हो । उक्त ठेक्का अनुसार, एक हजार रुपैयाँ दरका कुल ४३ करोड थान नोट छाप्ने कामको लागि करिब २ अर्ब ४० करोड ३५ लाख रुपैयाँ अर्थात् अमेरिकी डलर १६.९८५ मिलियन खर्च हुने अनुमान गरिएको राष्ट्र बैंकले जनाएको छ । यस ठेक्कामा नोटको डिजाइन, प्रिन्टिङ, आपूर्ति र डेलिभरीको पूर्णसेवा समावेश छ । उक्त कम्पनीले विगत केही वर्षदेखि नेपालमा नोट छाप्ने ठेक्काहरू लगातार पाउँदै आएको छ ।
इलाम राजदूवालीमा ‘अद्भूत घटना’
इलाम नगरपालिका–९ राजदूवाली पुलछेउ माई खोला किनारमा शिला उत्पन्न भएको भन्दै अवलोकन गर्नेहरूको भीड लागेको छ । स्थानीय एक कन्याको सपनामा देवी पाथीभरा माताले स्वयं प्रकट भई ‘शिला’ रहेको स्थान देखिएको उल्लेख गरेपछि उक्त स्थान चर्चामा आएको हो । उक्त घट्नालाई स्थानीयले ‘अद्भुत धार्मिक घटना’ मानेका छन् । सपनालाई आधार मानेर स्थानीय बासिन्दाहरूको उपस्थितिमा सो स्थानमा उत्खनन गर्दा लाम्चो आकारको शिला(ढुंगा) फेला परेको हो। उक्त घट्नापछि इलाम क्षेत्रमा धार्मिक उत्साह र कौतुहलता दुवै बढाएको छ। अहिले त्यहाँ दर्शनका लागि भक्तजनहरूको भीड बाक्लिँदै गएको छ।
शरद भेषावकरले लिए सन्यास
नेपाली क्रिकेटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । नेपाली क्रिकेटका हस्ती मानिने भेषावकरले आइतबार हङकङ सिक्सेस प्रतियोगितामा नेपालको अन्तिम खेल सकिएपछि सन्यास लिएका हुन् । हङकङ सिक्सेस खेलको कप्तानी शरद गरेका थिए भने आज भएको अन्तिम खेलमा नेपाल यूएईसँग पराजित भएको छ । योसँगै नेपालले हङकङ सिक्सेसको यात्रा समेत समाप्त गरेको छ ।

