काठमाडौं - नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री मोहम्मद अफताव आलमको मृत्यु भएको छ । उपचारको क्रममा ६३ वर्षीय आलमको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ
सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर एक महिनादेखि उनको उपचार भइरहेको थियो । उनी उच्चरक्तचाप, सुगर लगायत स्वास्थ्य समस्याबाट पीडित थिए ।
आलमलाई डेढ महिना अघि भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराइएको थियो । त्यहाँ स्वास्थ्यमा सुधार आएपछि घर ल्याइएको थियो । केही समयपछि स्वास्थ्य अवस्था झनै खराब भएपछि उनलाई काठमाडौं मेडिकल कलेज भर्ना गरिएको थियो ।
गएको जेठ १४ गते नख्खु कारागारबाट छुटेको केही दिनमै उनलाई मस्तिष्कघात भएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।
२०६४ को पहिलो संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा रौतहटको राजपुरमा बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको कसुरमा आलमले जन्मकैदको सजाय पाएका थिए ।
पूर्वमन्त्री आलमसहित चार जनालाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले रौतहटको फैसला उल्ट्याउदै गत जेठ १४ गते सफाइ दिएको थियो ।

