Harsamaya
कात्तिक २१ : दिनभरका घटनाक्रम एक नजरमा
ग्राफिक्स : हर समय/Har Samaya

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय विस्तारित बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन पेस गरेका छन् । आजदेखि सौराहामा सुरु गरिएको विस्तारित बैठकमा अर्यालले ३४ पृष्ठ लामो राजनीतिक प्रतिवेदन र महामन्त्री बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए । राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अर्यालले भदौ २४ गतेको विध्वंशमा राजनीतिक कार्यकर्ताहरूको संलग्नता रहेको स्वीकार गरे ।

देश–विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।

आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आव्हान 
प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम संकलन गरेर आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न आह्वान गरेकी छन् । प्रधानमन्त्री कार्कीले आज भिडियो सन्देश दिँदै आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि विवेकको मत प्रयोग गर्न आह्वान गरेकी हुन् । उनले भिडियो सन्देश  जारी गर्दै  भनेकी  छन्, ‘जेनजी युवा र समस्त नेपालीको सपनाको नेपाललाई यथार्थको नेपाल बनाउन, सबैभन्दा पहिला तपाईँ–हामीले हाम्रो मतदाता परिचयपत्र बनाउनुपर्छ । अनि त्यसको सही उपयोग गरेर सही प्रतिनिधि छान्नुपर्छ ।’

सुरक्षण मुद्रण केन्द्रबाटै ‘लाइसेन्स’ छपाइ सुरु
सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै मुद्रण मेसिनबाट छाप्न सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि लाइसेन्स छाप्न सुरु गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको बनेपास्थित केन्द्रमा रहेको मेसिनबाट छपाइ शुभारम्भ गरे । सञ्चारमन्त्री जगदीश खरेलले कानुनी उल्झन र विविध कठिनाइका बाबजुद पनि अत्यावश्यक प्रबन्ध मिलाएर लाइसेन्स छपाइ सुरु गरिएको बताए । उनका अनुसार केन्द्रका मेसिनबाट राष्ट्रिय परिचयपत्र, राहदानी, लालपूर्जा, विभिन्न स्टिकर, हुलाक टिकटलगायत थुप्रै काम गर्न सकिने छ । सञ्चारमन्त्री खरेलले भनेयो, ‘२८ लाख ड्राइभिङ लाइसेन्स छाप्नुपर्ने अवस्था छ ।’

सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक र प्रतिगामी
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारलाई असंवैधानिक र प्रतिगामी भएको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित देशको समसामयिक विषयमा पार्टी अध्यक्षसँगको विद्धत् वर्ग अन्तरसंवाद कार्यक्रममा बोल्दै ओलीले संविधानले अनुमति नदिएको पदमा पुगेको भन्दै वर्तमान सरकारको आलोचना गरे । उनले भने, ‘असंवैधानिक सरकार, कुनै संविधानले नगर्नु भनेको ठाउँमा प्रधानन्यायाधीश (प्रधानमन्त्री) हुन मिल्दैन । मानव अधिकार आयोगबाहेक कुनै पनि जागिरमा पूर्व प्रधानन्यायाधीश जान मिल्दैन । तर जानीजानी संविधान मिचेर प्रधानमन्त्री बनेको यो सरकार प्रष्ट रूपमा प्रतिगामी हो ।’

हितेन्द्रदेव शाक्यको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार
सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाउने निर्णयविरुद्ध दायर भएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको संयुक्त इजलासले आज उक्त विषयमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।आदेशमा भनिएको छ, ‘अन्तरवस्तु र प्रस्तुत रिट निवेदनको तथ्य, कानुनी प्रश्नलगायतका विषयहरू समान भएको र प्रस्तुत रिट निवेदनमा अन्तरिम आदेशको माग गरेको विषयमा प्रस्तुत मुद्दाको अन्तिम सुनुवाइ र निर्णय हुँदा रिट निवेदकले उठाएको संवैधानिक एवं कानुनी प्रश्नमा आवश्यक व्याख्या भई निरुपण र सम्बोधन हुनसक्ने विषय देखिए समेतबाट ती सम्पूर्ण मुद्दाहरू र प्रस्तुत मुद्दासमेत साथै रात्रि निर्णय गर्नु उपयुक्त र आवश्यक हुँदा हाल निवेदन मागबमोजिम अन्तरिम आदेश जारी गर्नु परेन’,अदालतले आगामी मङ्सिर ९ गतेका लागि पेसी तोकेको छ ।

रूसी नागरिकविरूद्ध इयूले गर्यो भिसामा थप कडाइ 
युक्रेन युद्धको लगभग चार वर्ष पछि युरोपेली सङ्घले शुक्रबार यूरोपमा सुरक्षा खतरा बढेको भन्दै रूसी नागरिलाई दिइदै आएको मल्टिपल इन्ट्री भिसा अस्वीकार गर्ने बताएको छ। ‘युरोपमा आक्रमण गर्नु र स्वतन्त्र रूपमा घुम्न अपेक्षा गर्नुलाई पुष्टि गर्न गाह्रो छ,’ इयू विदेश मामिला प्रमुख काजा कल्लासले एक्समा लेखे ।  उनले भने, ‘युरोपेली भूमिमा निरन्तर ड्रोन अवरोध र तोडफोडका घटनापछि इयूले रूसी नागरिकहरूको लागि भिसा नियमहरू कडा गर्दैछ।’धेरै देशहरूमा ड्रोन आक्रमण र आगजनीका संदिग्ध घटनापछि इयूमा रूसी ‘हाइब्रिड युद्ध’ को खतरा बढेको भन्दै भिसा प्रतिबन्धको उपाय अपनाइएको हो। ब्रसेल्सले भनेको छ, ‘अबदेखि रूसी नागरिकहरूले इयू यात्रा गर्ने योजना बनाउँदा प्रत्येक पटक नयाँ भिसाको लागि आवेदन दिनुपर्नेछ । यसले कुनै पनि सम्भावित सुरक्षा जोखिम कम गर्न आवेदकहरूको नजिक र बारम्बार छानबिन गर्न अनुमति दिनेछ।’

अफगानिस्तानसँग नेपाल पराजित
हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ । हङकङको मोङकोकस्थित मिसन रोड ग्राउण्डमा सम्पन्न खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको हो । नेपालका रसिद खानले ह्याट्रिक लिए पनि नेपाललाई जित दिलाउन सकेनन् ।अफगानिस्तानले पहिले ब्याटिङ गर्दै ११२ रन बनाएपछि नेपाललाई ११३ रनको लक्ष्य पाएको थियो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  २१:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update