Harsamaya
सुरक्षण मुद्रण केन्द्रबाटै ‘लाइसेन्स’ छपाइ सुरु
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको बनेपास्थित केन्द्रमा रहेको मेसिनबाट छपाइ शुभारम्भ गर्दै ।

काभ्रपेलाञ्चोक - सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै मुद्रण मेसिनबाट छाप्न सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि लाइसेन्स छाप्न सुरु गरेको हो । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको बनेपास्थित केन्द्रमा रहेको मेसिनबाट छपाइ शुभारम्भ गरे । सञ्चारमन्त्री जगदीश खरेलले कानुनी उल्झन र विविध कठिनाइका बाबजुद पनि अत्यावश्यक प्रबन्ध मिलाएर लाइसेन्स छपाइ सुरु गरिएको बताए । 
    
उनका अनुसार केन्द्रका मेसिनबाट राष्ट्रिय परिचयपत्र, राहदानी, लालपूर्जा, विभिन्न स्टिकर, हुलाक टिकटलगायत थुप्रै काम गर्न सकिने छ । सञ्चारमन्त्री खरेलले भनेयो, ‘२८ लाख ड्राइभिङ लाइसेन्स छाप्नुपर्ने अवस्था छ ।’

लाइसेन्स, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका छपाइ सधैँ विदेशी कम्पनीलाई ठेक्का दिएर छाप्ने गरिएको थियो । सञ्चारमन्त्री खरेलले पूर्वाधार र स्रोत साधन भए पनि छपाइ गर्न नसकिएको अवस्थामा नीतिगत सुधार गरेर छपाइ सुरु गरिएको बताए । 

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले विभिन्न कानुनी उल्झन र प्राविधिक जटिलता समाधान गरेर छपाइ सुरु गरिएको जानकारी दिए ।

पहिलो चरणमा १२ लाख प्रति छपाइको सम्झौता भएअनुरुप आजबाट काम सुरु गरिएको हो । सुरुमा दैनिक पाँच सय छाप्ने र यसको मात्रा बढाउँदै लगिने केन्द्रले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update