Harsamaya
कात्तिक २०: दिनभरका घटनाक्रम एक नजरमा
ग्राफिक्सः हर समय/harsamaya

नेपाली कांग्रेसभित्र महाधिवेशनको मुद्दा पेचिलो बन्दै गएको छ । विशेष र नियमित महाधिवेशन पक्षधर छुट्टाछुट्टै भेलामा केन्द्रित छन् । सरकारले फागुन २१ गते निर्वाचनको लागि मिति तय गरेपछि विशेष कि नियमित महाधिवेशन गर्ने भन्ने विषय अन्योलमा छ । बिहीबार काठमाडौंको वत्तिसपुतलीमा भेला भएका कांग्रेस नेताहरूले नियमित महाधिवेशनमा जानुपर्नेमा जोड दिएका छन् ।

यो सँगै देश–विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा मङ्गलबार देखि सुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर आज स्वदेश फिर्ता भएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, नेपालका लागि कतारका राजदूत, परराष्ट्र सचिव र सुरक्षा निकायका प्रमुखले स्वागत गरेका थिए । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार दोहा प्रस्थान गरेका थिए ।

कसैको एक थोपा रगत नबगी निर्वाचन हुन्छ

प्रधानमन्त्री सुशीला कार्कीले एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन आफू प्रयासरत रहेको बताएकी छन् । द एसियन नेटवर्क फर फ्री इलेक्सन्स (आन्फ्रेल) को प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण र भयरहित वातावरणमा स्वच्छ र निष्पक्ष चुनाव गराउन सरकार प्रतिबद्ध रहेको पनि जानकारी दिइन् । आन्फ्रेल थाइल्यान्डको ब्यांककमा सचिवालय रहेको अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको सञ्जाल हो। सचिवालयका कार्यकारी निर्देशक ब्रिजा रोसालेसको नेतृत्वको टोली अहिले नेपालको निर्वाचन वातावरणको मूल्यांकन गर्न काठमाडौँ आइपुगेको छ।

विशेष समय सान्दर्भिक छैन नियमित महाधिवेशन गरौं

नियमित महाधिवेशनका लागि दबाब दिनका लागि नेपाली कांग्रेसको संस्थापन पक्षले बिहीबार काठमाडौंमा भेला गरेको छ । बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला शुरु भएको हो । भेलाको अध्यक्षता भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले गरेका छन् । थापाले विशेष महाधिवेशन समय सान्दर्भिक नभएको बताएका छन् । उनले विशेष महाधिवेशन दर्ता भए पनि त्यसको कुनै सिङ्ग पुच्छर नभएको बताए ।  उनले भने, ‘जेनजी आन्दोलनमा हाम्रो पार्टी कार्यालयसँगै पार्टी सभापतिको घर नै जल्यो । त्यसपछि सभापतिलाई हटाउनुपर्ने भन्दै पार्टीका महामन्त्रीहरुले अभियान नै चलाउनुभयो । त्यसपछि  सभापतिले कार्यवाहक सभापति तोकेर तुरुन्तै बिदा हुनुभयो । तर पार्टीमा विशेष अधिवेशनको एउटा प्रस्ताव दर्ता भयो, विशेष अधिवेशन के को लागि दर्ता भयो भने त्यसको कुनै सिङ्ग पुच्छर छैन । त्यसको नतिजा के आउँछ ? थाहा छैन कसैलाई त्यसैले अहिले विशेष महाधिवेशन समय सान्र्दर्भिक छैन ।’

ईपीएस कोरिया शाखा घेराउ 

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा पास गरेपनि कोरिया पठाउन ढिलाइ गरेको भन्दै आन्दोलन शुरु भएको छ । भाषा र सीप परिक्षा पास गरेको दुई वर्ष बित्नलाग्दा समत दक्षिण कोरिया जान नपाएकाहरूले बिहीबार ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखा घेराउ गरेका हुन् । 

बालेनविरुद्ध साइबर व्यूरोमा जाहेरी

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)विरुद्ध नेपाल प्रहरीको साइबर व्यूरोमा जाहेरी दिएको छ । सामाजिक सञ्जालबाट एमाले, कांग्रेसलगायतका दलका साथै विदेशी देशहरुलाई गाली गरेको कसुरमा युवा संघले बालेन साहविरुद्ध जाहेरी दिएको हो । जाहेरीपत्रमा सार्वजनिक पदमा बसेको व्यक्तिले दलका साथै अन्य देशलाई गाली गरि सार्वजनिक शान्ति खलल गरेको, सामाजिक भाइचारा बिगारेको र अन्तराष्ट्रिय सम्बन्धमा समेत आँच आउने कार्य गरेकाले प्रचलित कानून बमोजिम कारवाही गर्न माग गरिएको राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष महाराज गुरुङले जानकारी दिए । 

आन्दोलनरत चिकित्सकहरूको माग सम्बोधन

जनकपुरधामका निजी अस्पतालहरूको संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपालमा आबद्ध अस्पतालहरूले आफ्ना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूको माग सम्बोधन गर्ने जानकारी गराएका छन् । बिहीबार (आज) जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै ती निजी अस्पतालका सञ्चालकहरूले न्यूनतम तलब पाउनुपर्ने भन्दै आन्दोलनमा रहेका आफ्ना अस्पतालका स्वास्थ्यकर्मीहरूको माग सरकारले तोकेको मापदण्ड अनुसार सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । उनीहरूले चिकित्सकहरूलाई सम्बन्धित अस्पताल प्रशासनसँग आफ्नो कुरा राखेर छलफल गर्न आएमा आफूहरूले सकेसम्म तलब सुविधा उपलब्ध गराउने बताए ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  २२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update