काठमाडौं - कतारको राजधानी दोहामा जारी ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन गएका राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार त्यहाँस्थित कतार राष्ट्रिय सङ्ग्रहालय तथा इस्लामिक कला सङ्ग्रहालयको अवलोकन गरेका छन् ।
सो अवसरमा राष्ट्रपति पौडेललाई सङ्ग्रहालयका अधिकारीहरूले स्वागत गर्दै त्यहाँको बारेमा अवगत गराएका हुन् ।राष्ट्रपति पौडेल कतारको राजधानी दोहामा मङ्गलवार देखी सुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यहाँ पुगेका छन् ।
कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा कतार पुगेका राष्ट्रपति पौडेलले ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सम्बोधन समेत गरेका थिए ।
साथै उनले सम्मेलन अन्तर्गत त्यहाँ आयोजित सामाजिक विकासका तीन स्तम्भहरूको सुदृढीकरण: गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवम् सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई समेत सम्बोधन गरेका थिए । राष्ट्रपति पौडेलले मङ्गलवार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेट पनि गरेका छन् ।
यसअघि उक्त सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेको विकासको असमानता, जनसङ्ख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा छलफल भएको छ ।

