Harsamaya
कात्तिक १८: दिनभरका घटनाक्रम एक नजरमा
ग्राफिक्स: हर समय/Har Samaya

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास निर्देशनालय, नक्टाझिज धनुषाका प्रमुख रत्नकुमार झासहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

देश–विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।

सप्तरीमा कृषि सडकमा अनियमितताः निर्देशनालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास निर्देशनालय, नक्टाझिज धनुषाका प्रमुख रत्नकुमार झासहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सप्तरीको महादेवा गाउँपालिका– २ स्थित दोमुहान डगरदेखि पश्चिम खाँडो नदी हुँदै भीम बाँधसम्म निर्माणाधीन कृषि सडकमा वित्तीय अनियमितता भएको ठहर गर्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

६१ किलो सुन तस्करी प्रकरणमा जीवन चलाउनेविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर 

६१ किलो सुन तस्करी प्रकरणमा संलग्न मष्टा ग्रुप प्रालिका सञ्चालक जीवन चलाउनेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ । सम्पती शुद्धीकरण विभागले उनि विरुद्ध मुद्दा दायर गरेको हो ।

अनुसन्धानमा उनले अवैध सुन तस्करीबाट प्राप्त रकम प्रयोग गरी झापा, काठमाडौँ, रौतहट र काभ्रेपलाञ्चोकमा ३२ कित्ता जग्गा खरिद गरेको देखिएको छ । 

अभियोगपत्र अनुसार, कुल २ अर्ब ७ करोड रुपैयाँभन्दा बढी रकम उनले अवैध स्रोतबाट शुद्धीकरण गरेको पुष्टि भएको छ । उनको सम्बन्ध बेल्जियम नागरिक दावा छिरिङसँग पनि देखिएको छ ।

राहदानी वितरणमा समस्या आउन नदिन प्रधानमन्त्री कार्कीको निर्देशन

प्रधानमन्त्री सुशीला कार्कीले राहदानी वितरणको अवस्थाबारे परराष्ट्र मन्त्रालय र राहदानी विभागका अधिकारीहरूसँग जानकारी लिएकी छन् । मन्त्रालय र विभागका अधिकारीहरूलाई आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बोलाएर राहदानी वितरणका विषयमा जानकारी माग गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललगायत अधिकारीलाई राहदानीमा कुनै समस्या नहुने गरी काम गर्न निर्देशन पनि दिएकी छन् ।

पूर्वराष्ट्रपति यादवसँग गृहमन्त्री अर्यालको निर्वाचन उन्मुख संवाद

पूर्वराष्ट्रपति डा रामवरण यादवसँग गृहमन्त्री ओमप्रकाश अर्यालले भेट गरेका छन् । गृहमन्त्री अर्यालले नेपालका प्रथम राष्ट्रपति डा यादवको ललितपुर बागडोलस्थित निवासमै पुगेर उनीसँग भेटवार्ता गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा निर्वाचनको वातावरण बनाउनका निम्ति विभिन्न पक्षसँग संवाद गर्ने क्रममा गृहमन्त्री अर्यालले डा यादवसँग भेटवार्ता गरेका हुन् ।

त्यस क्रममा गृहमन्त्री अर्यालले उनको स्वास्थ्य अवस्था, भदौ २३ र २४ गतेको घटनालगायत विषयमा कुराकानी र आवश्यक जानकारी लिएका थिए । 

२१ फागुनका लागि हुने निर्वाचन कार्यतालिका स्वीकृत, मतदान बिहान ७ देखि ५ सम्म 

निर्वाचन आयोगले २१ फागुनका लागि हुने निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । आयोगले आज विज्ञप्ति जारी गर्दै मंसिर १ देखि १० सम्म निर्वाचन प्रयोजनका लागि दल दर्ताको कार्यक्रम तय गरेको छ । 

आयोग प्रवक्ता नारायण प्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालिका लागि माघ २ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ । यस्तै फागुन ३ देखि १८ सम्म प्रचारप्रसार समय, फागुन १९ बाट मौन अवधि लागू हुनेछ । 

रोल्वालिङ हिमपहिरो: पाँच जनाको उद्धार, सात अझै बेपत्ता

रोल्वालिङ हिमश्रृङ्खलामा पहिरोमा परी घाइते भएका पाँच जनाको उद्धार गरिएको छ । दुई विदेशी र तीन नेपाली नागरिकको आज हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । सात जना अझै बेपत्ता छन् । 

पाँचै जनालाई यलुङरी हिमालको आधार शिविरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए । उनका अनुसार हिमपहिरोबाट जोगिएका थप तीन नेपाली पथप्रदर्शकलाई ना गाउँमा सुरक्षितरुपमा राखिएको छ । उनीहरुको केहीबेरमा उद्धार गरिने प्रजिअ रिसालले बताए ।

 

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  २२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update