Harsamaya

रौतहट -  रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ९ को डुमरिया स्वास्थ्य केन्द्रमा जापनिज इन्सेफ्लाइटिसको खोपको भ्याक्सिन म्याद नाघेको भेटिएको छ ।

कार्तिक महिनाको १७, १८ र १९ गते १२ महिनादेखि २३ महिना भित्रका बालबालिकाहरूको लागि दिन तयारी परिएको भ्याक्सिन म्याद नाघेको भेटिएको हो ।

चन्द्रपुर अस्पतालबाट ल्याइएको  भ्याक्सिन म्याद गुज्रिएको भेटिएकाले तत्काल सो खोप दिन रोकिएको चन्द्रपुर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख राजेश ठाकुरले बताए । उनले कर्मचारी तहबाट त्रुटि भएको स्वीकार गरे । ‘यस्तो लापरबाही गर्नु हुँदैन उनले भने, ‘यस विषयमा छानबिन हुन्छ । अस्पतालमा म्याद भएको भ्याक्सिन हुँदा पनि सकिएको ल्याउनु कर्मचारीको गल्ती भएको उनको जिकिर छ ।’

जापनिज इन्सेफ्लाइटिसको भ्याक्सिनको म्याद अङ्ग्रेजी मिति अनुसार सन २०२५ नोभेम्बर १ तारिखमा सकिएको छ । भ्याक्सिनको म्याद सकिएको चार दिन पछि दिन लागेको भन्दै  यसले बालबालिकाहरू गम्भीर असर पार्ने चन्द्रपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष नवराज देवकोटाले बताए । यो विषय गम्भीर भएकाले कार्यपालिकाको बैठक राख्ने र दोषी कर्मचारीलाई  कारबाही गरिने उनले बताए ।

चन्द्रपुर , वृन्दावन, गरुडा र गुजरा नगरपालिका भित्रका बालबालिकाहरू खोप लगाउने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका खोप अधिकृत अनिल कर्णले बताए ।

उनका अनुसार  प्रदेश कार्यालयबाट हालै आएको यो भ्याक्सिनको मिति २०२६ अप्रिलसम्म म्याद छ । तर चन्द्रपुर नगरपालिका ९ मा भेटिएको  म्याद नाघेको भ्याक्सिनको विषय गम्भीर रहेको उनको भनाइ छ ।  यस विषयमा आफ्नो ध्यानाकर्षण भएको चन्द्रपुर नगरपालिका नगर प्रमुख सञ्जय काफ्ले बताए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  १९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update