Harsamaya
जेनजी आन्दोलनका क्रममा काभ्रेमा तोडफोड र आगजनी गर्ने थप सात पक्राउ
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काभ्रेपलाञ्चोक - जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटमा संलग्न थप सात जना काभ्रेपलाञ्चोकमा पक्राउ परेका छन् । गत भदौ २४ गते काभ्रेपलान्चोकमा विभिन्न सरकारी तथा निजी भवन र सम्पति माथि तोडफोड, आगजनी र लुटपाटमा संलग्न उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । 

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार पक्राउ पर्नेमा पनौती नगरपालिका–३ का अनिष सापकोटा, वडा नं ८ का सुमन केसी, वडा नं १० का साकार केसी, वडा नं २ का स्यान्जी भन्ने सुवाष तामाङ, बेथानचोक गाउँपालिका–६ का समीर तामाङ, वडा नं ३ का चिउरे भनिने होमप्रसाद तिमल्सिना र महाभारत गाउँपालिका–४ का ङेमासाङ मुक्ताान रहेका छन् । 

यस्तै पनौती नपा–३ का अनिष सापकोटा विरुद्ध यसअघिसमेत मुद्दा दर्ता भएको थियो । सापकोटा विरुद्ध विसं २०७२ मा अभद्र व्यवहार मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । जेनजी आन्दोलनपछि सापकोटा सामाजिक सञ्जालमा विभिन्न धम्की दिँदै गालीगलौजमा उत्रिएको जनाइएको छ । 

बेथानचोकका होमप्रसाद तिमल्सिना विरुद्ध विसं २०८१ मा अभद्र व्यवहार गरेको भन्दै मुद्दा दर्ता भएको थियो । यसैगरी पनौती नपा–२ का तामाङ विरुद्ध तीन पटक चोरी मुद्दा दर्ता भएको छ । कार्यालयका अनुसार काभ्रेपलाञ्चोक र मातहत प्रहरी एकाइबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ । उनीहरूमाथि काभ्रेपलान्चोक जिल्ला अदालतबाट अपराधिक उपद्रव मुद्दामा सात दिनको म्याद थप गरी कार्यालयको हिरासतमा राखी अनुसन्धान भइरहेको हो । 

जिल्लाका विभिन्न स्थानमा आगजनी र लुटपाटमा संलग्न विरुद्ध कार्यालयमा उजुरी परेको जनाइएको छ । अन्य आन्दोनका क्रममा अपराधिक घटनामा संलग्नको खोजी भइरहेको काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२  २१:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update