बाजुरा - बाजुराको हिमाली गाउँपालिकामा बहुमूल्य जडीबुटीहरु चोरी निकासी हुन थालेपछि गाउँपालिकाद्वारा निगरानी गर्न थालिएको छ। देशकै दुर्गम पालिकाको रूपमा रहेको हिमालीमा बहुमूल्य जडीबुटी पाइने गरेको छ।
पालिकाको उच्च हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीहरू अवैध रूपमा चोरी निकासी हुने गरेको पाइएकोले गाउँपालिकाले निगरानी थालेको गाउँपालिकाले जनाएको छ।
पालिकाको वडा नम्बर १ र ३ का विभिन्न ठाउँमा पाइने जडीबुटीहरू अनियमित तरिकाले उत्खनन गरी चोरी हुने गरेको छ। चोरी निकासी भएको पाइए पछि गाउँपालिकाले बुधवार एक सार्वजनिक सूचना जारी गर्दै निगरानी गर्न सम्पूर्णमा आग्रह गरेको हो ।
गाउँपालिकाले जारी गरेको सूचनामा जडीबुटी चोरी निकासीको निगरानी गरी गाउँपालिकाको आर्थिक ऐन अनुसारको राजश्व सङ्कलनका लागि सहजीकरण गर्न आग्रह गरिएको छ।
गाउँपालिकाको असोज १० गते बसेको कार्यपालिका बैठकले जडीबुटीको निगरानी गर्न सम्पूर्ण वडा कार्यालयलाई आग्रह गरेको हो।
गाउँपालिकाका विभिन्न ठाउँमा सेतो चिनी,जटामसी, सतुवा,चिराइतो, रातो च्याउ, पाँच औले,लसुन,गुच्ची च्याउ,पदम चाल,कटुकी पाँच औले,समय,बाजडी,गदाल्नो लगायत थुप्रै प्रकारका जडीबुटी पाइने गरेका छन्।
त्यस्तै कतिपय नामले नै नचिनिने जडीबुटी वन जङ्गलमा जताततै पाइने गरेका छन्। पछिल्लो समय गाउँपालिकाका विभिन्न जङ्गलबाट बहुमूल्य जडीबुटी चोरी हुन थालेपछि जडीबुटीको उत्पादनमा गिरावट आउँदै गएको छ । अवैध तरिकाले उत्खनन गरेर चोरी निकासी हुन थालेपछि जडीबुटीहरू लोप हुँदै गएको छ ।
यहाँका स्थानीयको मुख्य पेसा जडीबुटी सङ्कलन र पशुपालन हो। जडीबुटी व्यवसायबाट राम्रो आम्दानी गरिरहेका यहाँका स्थानीयलाई पछिल्लो समय जडीबुटीको चोरी निकासी बढेपछि सङ्कलनमा समस्या हुँदै आएको छ। जडीबुटीबाटै यहाँका विभिन्न वडाहरूले लाखौँ राजस्व सङ्कलन गर्ने गरेकोमा त्यसमा पनि कमी आएको हो ।

