Harsamaya
 विपिनको परिवारलाई सुदूरपश्चिम सरकारको दुई लाख सहयोग
स्वर्गीय विपिन जोशीको शव ।

सुदूरपश्चिम - सुदूरपश्चिम सरकारले हमासको आक्रमणमा परी निधन भएका कञ्चनपुरका विपिन जोशीको परिवारलाई दुई लाख सहयोग गर्ने भएको छ । 

मुख्यमन्त्री कमलबहादुर शाहले जोशीको परिवारलाई मानवीय सहायतास्वरुप दुई लाख सहयोग गर्न लागिएको जानकारी दिए । यसअघि प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले हमासको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई दुई लाखका दरले आर्थिक सहायता दिने निर्णय गरेको थियो । सोहीअनुसार यसअघि मृतक सात जनाका परिवारलाई सहयोग रकम दिइसकेको र अब विपिनको परिवारलाई पनि सहयोग गरिने बताए । 

दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि विज्ञानमा स्नातक अध्ययन गरेर इजरायलमा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत ‘इन्टर्न’ गर्न गएकामध्ये दश जना नेपाली विद्यार्थी इजरायलमा हमासको आक्रमणमा परेका थिए । 

यसैबीच विपिन जोशीको पार्थिव शरीर आज साँझ नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी विमानस्थलमा पुर्याइएको छ । पार्थिव शरीरलाई विमानस्थलबाट कञ्चनपुर लगिएको छ । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०८२  २१:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update