Harsamaya
जेनजी आन्दोलनले उठाएका मागहरूलाई गम्भीरतापूर्वक लिनुपर्छ : गोपालमान श्रेष्ठ
नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठ ।

काठमाडौं - जेनजी आन्दोलनले उठाएका मागहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले बताएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै उनले लोकतन्त्रमा फरक मत अपरिहार्य रहेको भन्दै जेनजी आन्दोलनले उठाएका मागहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका हुन् ।

उनले प्रेस विज्ञप्ती मार्फत भने, ‘लोकतन्त्रमा फरक मत अपरिहार्य हो । त्यसलाई स्वीकार गर्ने साहस हामीले देखाउनुपर्छ । जेनजी आन्दोलनले उठाएका मागहरूलाई गम्भीरतापूर्वक लिनुपर्छ । त्यसै गरि परम्परागत राजनीतिक शक्तिहरूलाई समेत हामीले आत्मसात् गर्नुपर्दछ ।’

उनले जेनजी आन्दोलनको स्वरूपमा घुसपैठ हुँदा हिंसात्मक भई मानवीय र भौतिक संरचनामा क्षति पुगेको बताए । साथै उनले पुराना राजनीतिक दलहरूको अस्तित्व नै सङ्कटमा पार्ने सङ्केतहरू देखा परेका समेत बताए ।

‘जेनजी आन्दोलनको स्वरूपमा विभिन्न स्वार्थ समूहहरूको घुसपैठले आन्दोलनलाई हिंसात्मक बनाएको छ मानवीय र भौतिक संरचनामा क्षति पुगेको छ । परिस्थिति असामान्य छ । हाम्रो अस्तित्व नै सङ्कटमा पार्ने सङ्केतहरू देखा परेका छन्,’ उनको प्रेस विज्ञप्तिमा भनिएको छ ।

उनले राजनीतिक सङ्कट नेतृत्वको परीक्षण भएकाले यो नेपाली काँग्रेस कसरी चुनौतीहरू आत्मसात् गर्छ भन्ने परीक्षणको समय रहेको पनि बताए ।

‘राजनीतिक सङ्कट नेतृत्वको परीक्षण हो र नयाँ नेतृत्व जन्माउने अवसर पनि हो । आज नेपाली काँग्रेस कसरी चुनौतीहरू आत्मसात् गर्छ भन्ने परीक्षणको समय हो, उनले भने,  ‘हामीले विगतका कमजोरीहरूबाट सिक्नुपर्छ १२ बुँदे सम्झौताको परिवेश फरक थियो। त्यस बेला दलहरूबिचको एकताले लोकतन्त्र पुनः स्थापित भयो ।’

साथै, उनले अहिलेको समस्याको समाधान संवाद, सहकार्य र सहअस्तित्वपूर्ण राजनीतिबाट खोजिनुपर्ने समेत बताए ।

 

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२  १९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update