काठमाडौं - इजरायलसँग युद्ध विराम सहमति भएसँगै हमास लडाकुले मुक्त गराउने २० जना जीवित युद्धवन्दीको नामावली सार्वजनिक भएको छ । तर उक्त नामावलीमा नेपालका विपिन जोशीको नाम समावेश छैन भने उनको अवस्था अज्ञात छ । सोमबारभित्र छाड्ने भनिएका २० जना जीवित व्यक्तिहरू सबै इजरायली नागरिकहरू छन् ।
जीवित रहेका बन्धकहरूमा २१ वर्षीय मतन अंग्रेस्त,२७ वर्षीय जिव बरम्यान, २७ वर्षीय गाली बरम्यान, ३४ वर्षीय एलकाना बोहबोट, २१ वर्षीय रोम ब्राजलव्स्की,२० वर्षीय निमरोड कोहेन,२७ वर्षीय गुए गिल्बोओ दलाल, ३६ वर्षीय माक्सिम हरकिन, ३८ वर्षीय एइटन हर्न, २७ वर्षीय सेगेव कालफोन, २३ वर्षीय बार कुपरस्टेन, ४७ वर्षीय ओमरी मिरन, २४ वर्षीय एइटन अब्राहम मोर, २४ वर्षीय योसेफ चेम ओहाना, २३ वर्षीय एलन ओहेल, ३१ वर्षीय एभिनाटन ओर र २५ वर्षीय माटन जंगुकर छन्।
अमेरिकाको पहलमा इजरायल र हमास दुई वर्षदेखिको युद्ध रोक्न बिहीबार सहमत भएका थिए । त्यसको पहिलो चरणमा हमासको कब्जामा रहेका जीवित र मृतक गरी ५० जनालाई छाड्ने सहमति भएको थियो । तर इजरायलको किवुत्ज शहरबाट हमासको कब्जामा परेका विपिनको अवस्था कस्तो छ भन्ने अहिलेसम्म स्पष्ट छैन ।
इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित इजरायलका अधिकारीहरूसँग आफू निरन्तर सम्पर्कमा रहेको र विपिनको अवस्था बुझ्ने कोसिस गरिरहेको बताउँछन् । तर, अहिलेसम्म ठोस जानकारी केही नपाएको उनले बताए ।
अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरू मारिएका थिए । हमास लडाकुहरूले विपिनलाई आफूसँगै लिएर गएका थिए ।
सन् २०२३ नोभेम्बर १७ मा विपिन गाजा क्षेत्रको अल शिफा अस्पतालमा देखिएका थिए । तर त्यसपछि उनको अवस्था अज्ञात छ ।

