Harsamaya
स्वतन्त्र स्रष्टाबाट मात्रै उच्चकोटीको साहित्य सिर्जना हुन्छ: विष्णुविभु घिमिरे
ग्राफिक्स: हर समय/Har Samaya

विष्णुविभु घिमिरे विक्रम संवत् २०१० मा इलामको बरबोटेमा जन्मिएका हुन् । संस्कृति विषयका प्राध्यापक उनी कथा, कविता र अन्य विधामा कलम चलाउँछन् । उनी नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति बने २०७१ मा । तीन वटा कवितासङ्ग्रह र दुई वटा टेली–चलचित्रका लेखक घिमिरेसँग नेपाल साहित्यकार संसद्का महासचिव, सर्वनामका संस्थापक, सिर्जनशील झापाली समाजका अध्यक्ष रहेको अनुभव छ । 

उनको पहिलो रचना झापाबाट प्रकाशन हुने सूर्योदय साप्ताहिकमा छापिएको ज्यामिरडाँडा शीर्षकको कविता थियो । मौलिक कृतिका रूपमा उनका तीनवटा कवितासङ्ग्रह कठघरामा उभिएर, काडाँ काँडामा टेकेर र हुरीको इन्द्रेणीमा उक्लेर हुन् भने टेली–चलचित्रद्वय जनैको साँचो र सहयात्रा उनका सिर्जना हुन् । राष्ट्रिय युवा मोती पुरस्कारका हकदार बनेका उनले सडक नाटकका पाँच वर्ष नामक पुस्तिका पनि प्रकाशन गरेका छन् । सम्पादित, अनूदित र फुटकर कृतिका स्रष्टा उनले गरिमा (मासिक), अहिले (सामयिक संकलन) सुरुचि (साप्ताहिक) लगायत अनेक पत्रिकाको सम्पादन गरेका छन् । साझा प्रकाशन र नेपाली लेखक संघका पूर्व अध्यक्ष उनले २०३८ मा दिनेश अधिकारी, अशेष मल्ल र गगन विरहीसँग विलयन (संयुक्त) कविता लेखनको अभ्यास चलाएका थिए । प्रजातन्त्रका पक्षपाती घिमिरेले २०४६ अघि जनताको पक्षमा साहित्य लेखेबापत प्रशासनको वारेन्ट भोग्न बाध्य हुनुपर्यो । 

यहाँको साहित्य लेखन कहिलेदेखि सुरू भयो ? 
म त्यतिखेर १२/१३ वर्षको थिए । धुलावारी हाइस्कुल (झापा) मा कक्षा पाँचमा पढ्थें । विद्यालयको वार्षिकोत्सवमा जस्तो लाग्छ मलाई, कविता गोष्ठी भएको थियो । त्यहाँ मैले पहिलोपटक कविता वाचन गरेको थिएँ । यो नै मेरो साहित्य–यात्राको आरम्भ थियो । समय विक्रम सम्वत् २०२२ हुनुपर्छ । 

कसबाट कसरी प्रभावित हुनुभयो ? 
म साहित्यतिर यसरी नै अथवा यस्तो घटनाबाट प्रभावित भएँ, त्यो त म भन्न सक्दिनँ । सानैदेखि एकोहोरो र एकान्तप्रिय स्वभाव थियो मेरो । मलाई पढ्नमा एकदमै रुचि थियो । खासगरी साहित्यिक पुस्तक पढ्ने पिताजीको रुचिबाटै ममा पनि साहित्यतिर रुचि जाग्यो भन्ने लाग्छ । त्यतिखेरको समाज र मानवीय अवस्थाले पनि मलाई सिर्जनातिर आकर्षित गर्यो जस्तो लाग्छ । 

कसरी बढिरहेको छ त लेखन गतिविधि ? 
समय पाएसम्म लेखिरहेकै छु, लेख्नलाई अध्ययन चाहिन्छ, अध्ययन पनि गरिरहेकै छु । लेखनप्रति पहिलेजस्तै ऊर्जा र उत्साहको अनुभूति गरिरहेछु । 

वर्तमान लेखनप्रति सन्तुष्ट हुनुहुन्छ ? 
विश्वभर छरिएर रहेका नेपालीबाट नेपाली भाषा र साहित्यप्रति जुन प्रेम र सद्भाव पाएको छु–यसबाट म पूर्ण सन्तुष्ट छु । नेपालभित्र पनि भाषा र साहित्यको विकासमा प्रशंसायोग्य कार्य हुँदै आइरहेका छन् । सञ्चारमाध्यमको प्रचुरताले गर्दा पनि स्रष्टामा नयाँ/नयाँ सिर्जनाका लागि प्रेरणा भरेको मैले अनुभव गरेको छु । 

साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ ? 
राष्ट्रको संवेदना, भावना र सद्भावलाई एकताबद्ध गरी राष्ट्रिय चेतना जगाउने कार्यमा स्रष्टाहरू जहिले पनि अग्रपंक्तिमा हुन्छन् । राष्ट्रिय भावना भर्ने कार्यमा उनीहरूको महत्त्व कति छ भन्ने कुरा जगजाहेर  छ । सिर्जना–धर्मद्वारा स्रष्टाहरू जसरी राष्ट्रप्रति जिम्मेवार छन्– राष्ट्रको दायित्व पनि उनीहरूलाई त्यसरी नै सम्मान र हौसला दिने हुनुपर्दछ ।

तपाईंको साहित्यिक आदर्श के हो ? 
आफूले अनुभूत गरेको सत्य निर्धक्कसँगै साहित्यिक सिर्जनाबाट अभिव्यक्ति गर्नु मेरो साहित्यिक आदर्श हो । स्वतन्त्र लेखन र स्वतन्त्र स्रष्टाबाट नै उच्चकोटिको साहित्य सिर्जना हुन्छ भन्ने मेरो विश्वास छ । कुनै पनि वाद, एउटा निश्चित विचार र सोचमा मात्र खुम्चेर सिर्जना उन्मुक्त भई विस्तार हुन सक्दैन । यस अर्थमा स्वतन्त्र लेखन नै मेरो आदर्श हो ।

साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ ? 
हिजो थियो र त आज छ । हिजो साहित्यको जग बसेको थियो । र आज त्यही जगमा उभिएर हामी लेखिरहेछौं । हिजो भन्नु हिजोको समय हो र आज भन्नु आजको समय हो । कालक्रमको फरक÷फरक धारमा उभिएर मूल्याङ्कन गर्दा अस्ति रोपेको साहित्यिक बिरुवा हिजो पन्पेर फैलियो र आजसम्म आइपुग्दा त्यसमा अनेक हाँगाबिँगा र पात थपिए । यो क्रम जारी छ, हिजोको जग बलियो भएकाले नै त्यो जगमाथि उभिएको आजको साहित्यिक भवन अटल र स्थिर छ । 

वर्तमानमा नेपाली लेखकले आफ्नो लेखकीय दायित्व वहन गरिरहेका छन् त ?
साहित्यको कुनै सीमाना हुँदैन र खास एक अर्थको परिभाषामा पनि खुम्चेर बस्न सक्दैन । नयाँ/नयाँ सिर्जनाले नयाँ/नयाँ परिभाषा जन्माउँछ । सिर्जनामा जब प्रखर रूपले कुनै साहित्यकार सिर्जनारत हुन्छ । उसप्रति क्रमशः लेखकीय दायित्वबोध पनि सँगसँगै थपिँदै जान्छ । लेख्नकै लागि लेख्नेसँग मात्र कुनै दायित्वबोध हुँदैन । साहित्यको व्यापक उद्देश्यबाट प्रेरित जोसुकैमा पनि त्यो बोध हुन्छ नै । प्रत्येक लेखकले एक वा अनेकौं उद्देश्यबाट प्रेरित भएर लेखिरहेको हुन्छ र आफ्नो लेखन सिर्जनाबाट एउटा निश्चित सन्देश पाठकमा प्रेषण गरिरहेको हुन्छ । उद्देश्यहीन लेखनमा दायित्वको अर्थ गौण रहन्छ, तर सोद्देश्य लेखनमा भने लेखक जहिले पनि आफ्नो दायित्वप्रति सजग रहेको हुन्छ । वर्तमानमा नेपाली लेखकले आफ्नो लेखकीय दायित्व राम्ररी नै निर्वाह गरिरहेको देखिन्छ । 

तपाईं आफ्ना कृतिबाट सन्तुष्ट हुनुहुन्छ ? 
असन्तुष्ट त छुइनँ । तर पूर्ण सन्तुष्टिको अनुभूति पनि मसँग छैन । अहिलेसम्म जे लेखें– त्यसभन्दा अरु गहिरो र अझ उत्कृष्ट लेख्ने चाहना भइरहँदो रहेछ । सन्तुष्टि भन्ने कुरा शायद पूर्णतामा हुने हो, पूर्णता भन्नु पनि कहिलेकाहीं लाग्छ एउटा अमूर्त कला हो । हेर्नेका आँखा र सोचअनुसार अर्थ लाग्ने । त्यसैले पूर्ण सन्तुष्टिको अनुभूति एउटा असल लेखकले कहिल्यै गर्न सक्छ जस्तो मलाई लाग्दैन । 

तपाईंको लेख्ने निश्चित समय छ कि ?
त्यस्तो निश्चित समय त केही छैन । जुन बेला पनि मनले घच्घच्याएपछि लेख्ने हो । तर पनि मलाई बेलुकी, राति र बिहान लेख्न मन पर्छ । 

सफल स्रष्टाका आवश्यक गुणहरू के/के हुन् ? 
अहंकारशून्य भए पुग्छ । बाँकी सबै तपसिलका कुरा हुन् । 

साहित्यमा कुन विधाका पाठक बढी भएको महशुस गर्नुहुन्छ ? 
सबैभन्दा बेसी कथा र उपन्यास छन् । यसपछि कविता र अन्य विधामा । 

प्रकाशित मिति: मंगलबार, असोज २१, २०८२  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update