Harsamaya
इलाममा पहिरोमा परि २ जनाको मृत्यु, १५ जना भन्दा बढि बेपत्ता

विराटनगर - शनिवार साँझबाट आएको अविरल वर्षापछि इलाममा २ जनाको मृत्यु भएको छ । इलामका विभिन्न ठाउँमा खसेको पहिरोमा परि १५ जना भन्दा बढी बेपत्ता भएका छन् ।

इलाम नगरपालिका वडा नं ६ घोसमा डम्बरबहादुर पाख्रिनको घर पहिरोले पुर्दा २ जनाको मृत्यु भएको छ। घरमा रहेका ३ जना बेपत्ता छन् । पहिरोले पुरेर घाइते भएका २ जनालाई उपचारका लागि अस्पताल लगिएको छ । 

यस्तै घरमाथिबाट खसेको पहिरोका कारण इलामको माइ जोगमाई गाउँपालिका–६ का बर्मालाल सोग्मीका पाँच जना परिवारका सदस्य पहिरोमा परेर बेपत्ता भएका छन् । माथिबाट खसेको पहिरोको कारण उनीहरू रातीबाट सम्पर्क विहीन बनेका हुन् ।

यस्तै मांसेबुंगमा पनि पहिरोले पुर्दा ५ जना हराएका छन् । इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार बेपत्ता र मृतकको आधिकारिक सङ्ख्या आई सकेको छैन।  

त्यस्तै, शन्दकपुर गाउँपालिका–३ सुलुबुङका कुमार सेढाईकी आमा र छोरी पनि पहिरोमा परेर बेपत्ता भएका छन् ।

इलाममा बिहानबाट पानी रोकिएको छ । पानी रोकिएपछि उद्धारको कार्य जारी रहेको इलामका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एक नारायण कोइरालाले बताए । 

प्रकाशित मिति: आइतबार, असोज १९, २०८२  ०८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update