Harsamaya
राष्ट्रपति पौडेलको उपस्थितिमा टुँडिखेलमा ‘फूलपाती बढाइँ
राष्ट्रपति पौडेलको उपस्थितिमा टुँडिखेलमा ‘फूलपाती बढाइँ समारोह ।

काठमाडौं -  राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज  ‘फूलपाती बढाइँ समारोह–२०८२’ सम्पन्न गरिएको छ ।  समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो । 

सो समारोहमा सेनाको टोलीले राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ गरेको थियो । समारोहमा सैनिक परेड प्रदर्शन, दुर्गा नाचका साथै सेनाको हेलिकप्टरबाट ‘फूलपाती बढाइँ समारोह–२०८२’ ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । 

समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिहरु लगायत विशिष्ट व्यक्तित्व सहभागी रहेको थियो । 

फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ । नेपाली सेनाले सैनिक मञ्चमा हर्षोल्लासपूर्वक फूलपाती बढाइँ गर्ने प्रचलन छ । गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमान ढोकाको  दशैंघरमा साइत जुराएर भित्र्याएसँगै टुँडिखेलमा फूलपाती बढाइँ गर्ने परम्परा छ । दशैंको सप्तमी अर्थात् फूलपातीका दिन सेनाले हरेक वर्ष सैनिक मञ्च टुँडिखेलमा भव्य समारोहका बिच फूलपाती बढाइँ गर्दै आएको छ ।

प्रकाशित मिति: सोमबार, असोज १३, २०८२  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update