Harsamaya
सुनसरी र मोरङबाट ठूलो परिमाणमा लागु औषध बरामद
सुनसरी र मोरङमा लागु औषध बरामद ।

विराटनगर - सुनसरी र मोरङ जिल्लामा प्रहरीले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत ठूलो परिमाणमा लागु औषध बरामद भएको छ भने दुई जना पक्राउ परेका छन् ।

सुनसरीको धरान–४ मा विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर , इलाका प्रहरी कार्यालय धरान, भेडेटार र वडा प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले प्लास्टिकको बोरामा प्याक गरिएको २ सय ७५ किलोग्राम गाँजा सहित धनकुटा साँगुरीगढी गाउँपालिका–८ का १९ वर्षीय बिबसन राईलाई नियन्त्रणमा लिएको हो ।

त्यसै गरी, कोशी गाउँपालिका–५ मा अस्थायी प्रहरी चौकी कटानले बेवारिसे अवस्थामा राखिएको ४७ किलोग्राम गाँजा बरामद गरेको छ ।

यसैबिच, भोक्राहानरसिंह गाउँपालिका–२ मा प्रहरी चौकी भोक्राहाले सञ्चालन गरेको चेकजाँचमा ६८६ पत्ता (६ हजार ८ सय ६० क्याप्सुल) ट्रामाडोल बरामद भएको छ ।

मोरङतर्फ, विराटनगर–११ मा वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले उदयपुर चौदण्डीगढी गाउँपालिका–४ की २१ वर्षीय इसिका मगरलाई ट्रामाडोल ४२ क्याप्सुल र डिकोलिक ६ पिस सहित पक्राउ गरेको छ ।

प्रकाशित मिति: सोमबार, असोज १३, २०८२  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update