Harsamaya

स्वस्थ्य खानाको छनोट गर्नका लागि धेरै सोच विचार गर्नु पर्दैन् । हामीहरुले खाइरहेको सामान्य दाल-भात, तरकारी, अचार, दूध, दही, मोही, हलुवा, खिचडी नै खाने हो। तर, चाडपर्वको बेलामा चाहीं विशेष किसिमका खानेकुराहरू पनि बनाइन्छ । शाकाहारीहरूले खीर वा मिठाइहरू खान्छन् । माछा र मासु खानेहरूले त विभिन्न परिकार खान्छन् । खसी र कुखुराको मासु, माछा, अण्डा खान्छन् ।

तर चाडपर्वमा ध्यान दिनुपर्ने कुरा के छ भने पेट भरिसकेपछि पनि जबरजस्ती खाने प्रचलन छ । चाडपर्वमा बनाइएका परिकार मिठो मसिनो हुने भएकाले धेरै खाने गरिन्छ । आफन्त वा साथीसंगतसँग रमाइलो गरिन्छ । विभिन्न प्रकारका परिकारहरू बनाएर खाँदा अटसमटस हुनेपनि गर्छ । त्यसैले चाडपर्वमा आफूले खान सक्ने अथवा आफ्नो जति भोक लाग्छ, त्योभन्दा बढी नखाने भनेर पहिलै तयारी गर्नुपर्छ । मनस्थिति त्यस्तै बनाउनुपर्छ ।

मांसाहारीहरूले मासु पकाउँदा एकदमै धेरै तेल वा चिल्लो हाल्ने, त्यसपछि मसला हालेर पकाउने गर्छन्। त्यो खाँदा एकछिन त जिब्रोलाई स्वाद दिन्छ तर धेरै मासु वा त्यसका परिकारहरु खाँदा त्यसमा रेशादार तत्व नभएकाले कब्जियत गराउन सक्ने सम्भावना हुन्छ। त्यसैले माछा/मासु खाँदाखेरि धेरै मात्रामा वा दिनमा तीन पटक नै खानु हुँदैन् । सलादका रुपमा काँक्रो अथवा फलफूलहरूको प्रयोग गर्नुपर्छ ।

जो शाकाहारी हुनुहुन्छ, उहाँहरूले विभिन्न किसिमका तरकारीहरू त खाइहाल्नुहुन्छ। तर मिठाइ खाने भनेर एकदम धेरै गुलियो मिठाइहरूले केही फाइदा गर्दैन्। त्यसमाथि पनि कसैकसैलाई विभिन्न किसिमका समस्याहरू आइपर्छन्। नसर्ने रोगहरू, मधुमेह, उच्च रक्तचाप, मुटुका रोगको समस्या भएकाहरुलाई असर गर्छ । कसैलाई जोर्नीहरू एकदमै दुख्ने समस्या देखिन्छ। त्यस्तोबेला एकदमै ध्यान पुर्याउनुपर्छ । दशैँ वा तिहारको बेलामा रमाइलो गरिसकेपछि पछि बिरामी नहोस भनेर घरमै बनाइएका खानेकुराहरू स्वास्थ्यकर हुन्छन् ।

खानेकुराहरूलाई बारम्बार तताएर, तेल वा घिउमा बेस्सरी तारेर बारम्बार खानु हुँदैन्। एउटै तेललाई बारम्बार तताउनु हुँदैन् । तारेको तेललाई किन फाल्नु भनेर अरू खानेकुराहरू तताउनु हुँदैन् । किनभने एउटै तेल बारम्बार तताउँदा, त्यसमा भएको नराम्रो बोसो अथवा नराम्रो चिल्लो पदार्थ जुन छ त्यसले शरीरमा क्यान्सर पनि उत्पन्न गराउन सक्छ भन्ने अध्ययनले देखाएको छ ।

यसका साथ-साथै विभिन्न मुटुरोग विशेषज्ञहरूले यस्तो किसिमको तेलहरूमा चाहीं ट्रान्सफ्याट अथवा नराम्रो खालको बोसो हुन्छ भनिएको छ । त्यसले मुटुमा पनि समस्या पर्छ र मुटुमा समस्या भइरहेकै मान्छेहरू, मधुमेह, उच्च रक्तचाप भएकाहरूलाई त झनै समस्या पर्छ । 

त्यसैकारणले गर्दा तेल बढी भएको खण्डमा तताएर प्रयोग गर्नुको साटो फालिदिनुपर्छ । अलिकता लोभले गर्दाखेरि विभिन्न किसिमको समस्याहरू देखिनुको साटो खानेकुरा कसरी पकाउने भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । 

सामान्य चाडपर्वको बेलामा मात्र नभइ अरु बेलामा पनि खानपान र स्वास्थ्यको बीचमा चाहीं एकदमै धेरै ख्याल गर्नुपर्छ । ‘पेट सफा त हर रोग दफा’ अर्थात् पेट सफा भयो भने कब्जियत, पेटमा रोग लागेन भने विभिन्न किसिमका समस्याहरू हुँदैनन् भन्ने पनि होइन् । विभिन्न अध्ययनहरूले के देखाइरहेको छ भने, जे खानेकुराहरू खान्छौं, त्यसले हाम्रो शारीरिक स्वास्थ्यमा मात्रै होइन मुटु, कलेजो, मिर्गौला, आन्द्रा मात्रै स्वास्थ्य राख्ने भन्ने होइन मानसिक स्वास्थ्य स्वस्थ राख्न, मानसिक रूपमा स्वास्थ्य रहनमा पनि धेरै ठूलो भूमिका खेल्छ । मस्तिष्क–स्वास्थ्य र पेट–स्वास्थ्यको बीचमा कस्तो सम्बन्धका बारेमा बुझ्नुपर्छ । पेट स्वस्थ रह्यो भने मस्तिष्क पनि स्वस्थ रहन्छ भन्ने अध्ययनले देखाएको छ ।

हाम्रो पेटमा अर्बौं–खर्बौं ब्याक्टेरियाहरू, किटाणुहरू हुन्छन् तिनीहरु स्वस्थ रहेभने, तिनीहरूबाट निस्केको एउटा विशेष किसिमको तत्व, जसलाई सेराटोनीन भनिन्छ, जसले हाम्रो मस्तिष्कलाई खुसी पार्न, आनन्द दिनलाई मद्दत पुर्‍याउँछ। मस्तिष्कलाई खुसी पार्ने जुन तत्व हुन्छ, त्यो ८० देखि ९० प्रतिशत पेटमा उत्पन्न हुने रहेछ । त्यसकारण पेटलाई स्वस्थ राख्नुपर्छ । ताकि मस्तिष्क पनि स्वस्थ रहोस् भन्ने कुरा यसले देखाउँछ। त्यसैले मान्छेको पाँच–छ फिटको शरीरमा रहेको दुई, तीन इन्चको जिब्रोले धेरै कुरा कन्ट्रोल गर्नसक्छ भन्ने हो । जिब्रोलाई मिठो लाग्ने खानेकुरा खाँदा पेटको स्वास्थ्यमा नराम्ररी असर पारिरहेको हुन्छ । 

विभिन्न पत्रु खानेकुराहरू, कोल्ड ड्रिङ्कहरू, रक्सी, जाँडले त मानसिक र शारीरिक रुपमै असर पार्छ। अध्ययनहरूले के देखाएको छ भने धेरै जाँडरक्सी खाने मानिसहरूलाई पछि विभिन्न किसिमका मानसिक समस्याहरू हुन सक्ने सम्भावनाहरू धेरै छन् । मस्तिष्क र खानपिनको सम्बन्धलाई जोडेर अहिले धेरै अध्ययन भइरहेछ । त्यसको अर्थ मानसिक रोग लागेको मानिसहरूलाई स्वस्थ्य खानेकुरा दिएर मात्रै ठीक हुन्छ भन्ने होइन् । मानसिक रोग विज्ञले भनेअनुसार औषधि पनि खानुपर्छ । परामर्श पनि लिनुपर्छ । त्यसैल खानपिनमा धेरै ध्यान दिनुपर्छ ।

दशैँ–तिहार मनाउँदा विरामी परियो भने स्वस्थ्य भएर काममा जान सकिदैन् । चाडपर्वमा रमाइलो गरौँ, राम्रोसँग मनाऔँ । यो हाम्रो संस्कृतिको अङ्ग हो । चाडपर्व मनाउँदा सामाजीकरणमा पनि ठूलो भूमिका खेल्छ । हामीलाई मानसिक रूपमा पनि आनन्द दिन्छ । अध्यात्ममा रुचि राख्नेहरूलाई दुर्गा भवानीको पूजा–आराधनाले पनि धेरै ठूलो मनमा आनन्द दिन्छ । त्यसैले रमाइलो गरेर चाडपर्व मनाऔं, स्वस्थ्य रुपले वा स्वास्थ्यकर खानेकुरा खाएर वा मानसिक र शारीरिक रूपमा स्वस्थ रहेर मनाउनुपर्छ। खानपानले यस्तै किसिमको रोग निम्त्याउछ भन्ने होइन तर सचेत चाहीं हुनैपर्छ । 

कसैलाई मधुमेह एवम उच्च रक्तचापको समस्या आयो वा खानपानमा सावधानी अपनाउन नसक्दा समस्या आयो भने घर परिवारमा पनि तनाव हुन्छ । त्यसैले  बालबालिकाको अवस्थादेखि नै स्वास्थ्यकर खानेकुरा खानपर्छ । आमा वा अभिभावकहरूले स्वास्थ्यकर खानेकुरा खान सिकाउनुपर्छ । र खानेकुरा खान सिकाउने मात्रै होइन स्वास्थ्यकर खानेकुरा दाल, भात, तरकारी, अचार जस्ता कुराहरू त कसरी बनाउने भन्ने पनि सिकाउनुपर्छ । ताकि त्यो बालबालिकाहरू भोलि युवा भइसकेपछि वा वयस्क भइसकेपछि स्वास्थ्यकर खानेकुरा खान मात्रै होइन पकाउन पनि सिकोस् । आफ्नो हातले पकायो भने स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ ।  

नियमित स्वास्थ्यकर खानेकुराहरु खाएपछि मोटोपनको समस्या, मधुमेह हुनसक्ने सम्भावनाहरु कम हुन्छ । अस्वस्थ्य जीवनशैलीले धेरै समस्या निम्ताउने भएकाले तेलमा भुटेका र पत्रु खानेकुरा, प्याकेटमा भएका खानेकुराहरु, आलु चिप्सदेखि लिएर चाउचाउ, मैदाको मःम खाँदा एकछिन त आनन्द आउछ तर लामो समयपछि अनेक समस्याहरु देखिन्छन् । त्यसैले चाडपर्वको बेलादेखि नै अभिभावक, बालबालिका,  वयस्क वा युवायुवतीहरुले आफ्नो खानपानमा ध्यान दिने हो भने, शारीरिक र मानसिक रुपमा स्वस्थ रहनमा ठुलो भूमिका खेल्छ ।

फूड पोइजनिङको समस्या पर्छ भने एउटा विचार गर्नुपर्छ । मासु खाँदाखेरि त्यसमा रेशादार तत्व नहुने भएकाले रेशादार तत्वहरु शरीरमा परोस् भनेर हरियो तरकारी, फलफुलहरु, अम्बा, हलुवाबेत जस्ता खानेकुरा खानुपर्छ । माछामासु खाइसकेपछि कोल्ड ड्रिंक खायो भने पच्छ भनेर मान्छेहरुले कोल्ड ड्रिंकहरु धेरै खान्छन् । त्यस्तो किसिमका खानेकुराहरुले पछि समस्या पार्छ । सकेसम्म पत्रु खानेकुराहरुलाई आफ्नो जिन्दगीबाट हटाउनैपर्छ । - प्रमिला कार्की

प्रकाशित मिति: शनिबार, असोज ११, २०८२  ०९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update