Harsamaya
चाडपर्व भत्ता पाउनुपर्ने माग गर्दै  बाजुरामा अस्पतालमा कार्यरत कर्मचारीले बुझाए ज्ञापन पत्र

 

बाजुरा - जिल्ला अस्पताल बाजुरामा कार्यरत करार कर्मचारीहरूले तत्काल चाडपर्व भत्ता पाउनुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । बिहीबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्कालाई प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल मार्फत ज्ञापन पत्र बुझाएका हुन् ।

अस्पतालमा कार्यरत सम्पूर्ण करार कर्मचारीहरूले चाडपर्व भत्ता तत्काल उपलब्ध गराउन माग गर्दै बाजुराका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल मार्फत मन्त्री खड्कालाई ज्ञापन पत्र बुझाएका छन् ।

नेपाल श्रम ऐन ०७४, नियमावली ०७५ र सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा ऐन ०७६ दफा ८२ मा करार सेवाका कर्मचारीहरूलाई पनि चाडपर्व भत्ता पाउने हक हुन्छ भन्ने स्पष्ट छ, र विगतका वर्षहरूमा चाडपर्व भत्ता प्रदान गर्दै आएको थियो । तर यो आर्थिक वर्षमा अहिलेसम्म भत्ता उपलब्ध गराएको छैन । उक्त ज्ञापन पत्रमा भनिएको छ ।

समान काम गर्ने स्थायी कर्मचारीहरूले पाउने सुविधा तत्काल करार सेवाका कर्मचारीहरूले पनि पाउनु पर्ने अस्पताल बाजुराका कर्मचारी  लेखराज पाण्डेले बताए । चाडपर्व भत्ता उपलब्ध नहुँदा कर्मचारीहरूमा निराशा, असमान व्यवहारको अनुभूति र अन्यायपूर्ण भएको उनको भनाइ छ ।

कर्मचारीहरूले ज्ञापन पत्र बुझाउँदै  चाडपर्व भत्ता तत्काल उपलब्ध गराएर कर्मचारीमैत्री वातावरण सिर्जना गर्न  प्रदेश सरकारलाई आग्रह गरे । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पौडेलले कर्मचारीहरूको माग सम्बोधनका लागि सम्बन्धित निकायमा पहल गर्ने बताए ।

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२  ०७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update