Harsamaya
असोज २९ देखि  १८ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै 

ललितपुर - आउँदै गरेको शुभ दीपावली ( तिहार ) तथा छठ पर्वलाई लक्षित गरी फ्लोरिकल्चर एशोसिएशन नेपाल ( फ्यान ) को आयोजनामा गोदावरी पुष्प मेला तथा प्रदर्शनी गर्न लागिएको छ । 

गोदावरी फूलको व्यावसायिक विकास, विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले ‘ रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि ’ भन्ने मूल नाराका साथ ‘ १८ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी – २०८२ ’ यहीँ असोज २९ गतेदेखि कार्तिक २ गतेसम्म ललितपुरको जावलाखेल स्थित खेल मैदानमा हुने फ्यानको उपाध्यक्ष तथा मेला संयोजक सुमन महर्जनले बताए ।

पुष्प व्यवसाय प्रवर्द्धनका सम्बन्धमा समय अनुकूल पुष्पको जातीय विकास एवं गुणस्तरीय उत्पादनमा सहयोग पुर्‍याउनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको एशोसिएशनले जनाएको छ ।

त्यस्तै, उक्त प्रदर्शनीमा व्यावसायिक स्टल ८० वटा, सूचनामूलक ३ वटा, प्रतिस्पर्धा स्टल १ र सेल्फी स्टल १ सहित गरी जम्मा ८५ वटा प्रदर्शनी कक्षहरू रहने मेला संयोजक सुमन महर्जनले जानकारी दिए । नेपालमा विगत वर्षदेखि नै व्यावसायिक उत्पादन हुँदै आएको विविध जातका गोदावरी फूल बिरुवाका साथै यस वर्ष भित्रिएका गोदावरी फूलका केही नयाँ प्रजातिका फूल बिरुवासमेत प्रदर्शनी तथा बिक्री / वितरण हुने छन् ।

साथै, यस सिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल बिरुवा, बिउ बिजन, मल खाद र कृषि औजारसमेत प्रदर्शनीमा समावेश गरिने आयोजकले जनाएको छ । ५ दिनेसम्म हुने उक्त गोदावरी फूलको प्रदर्शनी बिहान ०९ः०० बजेदेखि साँझ ०५ः३० बजेसम्म सञ्चालन हुने छ, भने प्रदर्शनीमा ४२ हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने साथै १ करोड २० लाखभन्दा बढीको व्यवसायीक कारोबार हुने आयोजकको अपेक्षा छ । विगत वर्षमा झैँ यस वर्ष पनि गोदावरी फूलको ४ वटा विधा ( मिनियचर, रिफ्लेक्स, स्पाईडर र ईनकर्भ ) मा प्रतिस्पर्धा गराई प्रतिस्पर्धामा प्रथम, दोस्रो तथा तेस्रो हुने नर्सरी फर्मलाई शिल्ड, नगद तथा प्रमाण – पत्रद्धारा पुरस्कृत गरिने छ, भने गोदावरी फूलको कट फ्लावर विधातर्फ समेत प्रतियोगिता गराई उत्कृष्ट हुने नर्सरी फर्मलाई पुरस्कृत गरिने छ । 

साथै, स्टल सजावटतर्फ समेत उत्कृष्ट छनोट गरी पुरस्कृत गरिने कार्यक्रम रहेको आयोजकको जनाएको छ । व्यवसायका क्षेत्रमा भए गरेका नयाँ – नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि प्रदर्शनी स्थलमा स्थलबाटै प्रदान गरिने एशोसिएसनले जनाएको छ । आयोजकको अनुसार सबै स्टल बुक भइसकेको छ । प्रदर्शनी स्थलमा स्टल सजावट कार्य २०८२ असोज २८ गते, बिहान ०८ः०० बजेदेखि खुल्ला हुने छ । प्रदर्शनी उद्घाटन २०८२ असोज २९ गते हुने छ, भने प्रदर्शनी समापन २०८२ कार्तिक २ गते, साँझ ०५ः०० बजे हुने एशोसिएसनले जनाएको छ । 

पुष्प व्यवसायीहरूलाई व्यवसाय प्रवर्द्धनमा हौसला प्रदान गर्ने र व्यवसायिहरूबिच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरीय उत्पादनमा टेवा पुर्‍याउने प्रदर्शनीको उद्देश्य रहेको फ्यानका अध्यक्ष राजेश भक्त श्रेष्ठले बताए । हाल पुष्प उत्पादक कृषकहरूको आफ्ना उत्पादनको बजार क्षेत्र सिमित रहेको सन्दर्भमा यस प्रकारको प्रदर्शनीको आयोजनाबाट पुष्प प्रेमी उपभोक्ताहरू बढ्न जाने भई बजार विस्तार गर्न प्रदर्शनीले सघाउने श्रेष्ठले बताए । 

त्यसै गरी, उक्त प्रदर्शनीमा अवलोकन गर्न आउने विद्यार्थीहरूको लागि १ सय रुपैयाँ, सर्वसाधारणहरूको लागि १ सय ५० रुपैयाँ तोकिएको र ज्येष्ठ नागरिकहरू ( नागरिकता वा राष्ट्रिय परिचय पत्र लिएर आउनु पर्ने ) को लागि चाहिँ निःशुल्क प्रवेशको गरिएको फ्यानको कोषाध्यक्ष राजकृष्ण बजगाईँ जानकारी दिए । नेपालमा वि.सं. २०११ सालबाट सामान्य स्तरमा शुरु भएको पुष्प व्यवसाय, शहरीकरणको विकास तथा विस्तारसँगै सातै प्रदेशका मुख्य शहरहरुलगायतका अन्य क्षेत्रमा समेत फैलँदो अवस्थामा रहेको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update