
बाजुरा - बाजुरामा राँगा जुधाएर बडादशैंको स्वागत गरिएको छ । नेपालीहरुको महान चाड विजया दशमी तथा शुभदिपावलीको पूर्वसन्ध्यामा स्थानीयहरुले राँगा जुधाएर दशैको स्वागत गरेका हुन् ।
हिन्दुहरुको महान् पर्व विजयदशमीको घटस्थापनाको पहिलो दिन भगवतीको पुजाआराधना गरि घरघरमा जमरा राखि दशैंको शुभारम्भ गरिन्छ । तर बाजुरामा भने एकआपसमा राँगा जुधाएर दशंैको शुभारम्भ गरिएको हो ।
बाजुराको सदरमुकाम मार्तडी स्थिति बडीमालिका नगरपालिका वडा.नं. ८ बाउलीमा मार्तडीबासीहरुले एकआपसमा राँगालाई जुधाएर दशैँको स्वागत गरेका हुन् । हरेक बर्ष झैँ यस वर्ष पनि राँगा जुधाएर महान चाड बडादशैंको स्वागत गरिएको बडिमालिका नगरपालिका वडा नम्बर ८ का स्थानीय धने थापाले बताए ।
यहाँका स्थानीयले एक आपसमा राँगा जुधाएर बडा दशैंको स्वागत गर्ने गरेका छन् । रावल वाडा र थापाबाडा ओल्लो पल्लो गाउँका राँगाहरु जुधाईएका हुन्। जसमा थापाबाडिको राँगाले जितेको हो ।
लेकबाट औलतिर भैंसीहरु झारिसके पछि एकआपसमा कसको राँगामा कति बल छ,कसले राम्रोसँग पालन गरेको छ भन्ने कुरा प्रष्ट पार्न घटस्थापनाको अघिल्लो दिन जुधाइने प्रचलन रहेको छ ।