काठमाडौं - भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी पत्रकार तथा पत्रकारका परिवारका सदस्य सम्पर्कविहीन भएको आठ दिन बितिसक्दा पनि खोजी तथा उद्धार प्रभावकारी हुन नसकेको भन्दै नेपाल पत्रकार महासंघले सरकारको ध्यानाकर्षण गराएको छ।
महासंघका महासचिव रामप्रसाद दाहालले आज गृहमन्त्री र परराष्ट्रमन्त्रीलाई पत्र पठाउँदै सम्पर्कविहीन पत्रकार तथा उनीहरूका परिवारका सदस्यको तत्काल खोजी तथा उद्धार गर्न माग गरेका हुन् ।
महासंघले बाढीबाट घर तथा सवारीसाधनमा क्षति पुगेका पत्रकार र सञ्चारमाध्यमका कार्यालयमा भएको क्षतिको तत्काल मूल्यांकन गरी अबिलम्ब क्षतिपूर्ति उपलब्ध गराउन समेत सरकारसँग आग्रह गरेको छ।
परराष्ट्रमन्त्रीलाई पठाइएको पत्रमा बेपत्ताको खोजी तथा उद्धारका लागि छिमेकी मुलुक चीन र भारतसँग समेत कूटनीतिक पहल गर्न आग्रह गरिएको छ।
महासंघका अनुसार हालसम्म प्राप्त विवरणमा पाँच जना पत्रकार तथा पत्रकारका परिवार सम्पर्कविहीन छन्।
सम्पर्कविहीनमा दोलखाका नयाँ पत्रिका दैनिकका टेकबहादुर थामी, भक्तपुरका महासंघ शाखा सदस्य शेखर ढुंगाना पत्नीसहित, नुवाकोटका रेडियो राजमार्गका राजकुमार नेपाली, शिलापत्र डटकमका प्रकाशक सुरेश सिम्खडा आमा र दिदीसहित तथा रातोपाटी डटकमका पत्रकार निराजन पौडेलका बुबा, आमा, काका, काकी र बहिनी रहेका छन्।
पत्रकारका घर र सवारीसाधनमा क्षति
बाढीबाट पत्रकारका घर तथा सवारीसाधनमा समेत ठूलो क्षति पुगेको महासंघले जनाएको छ।
महासंघका अनुसार निवर्तमान अध्यक्ष शिव देवकोटाको मोटरसाइकल बाढीले बगाएको छ। रेडियो आजमार्गका विपिन मल्ल ठकुरीको धादिङ बैरेनीस्थित घरमा क्षति पुगेको छ। लोकपथ डटकमका सन्नी श्रेष्ठ सुवासको नुवाकोट भैँसेस्थित घर तथा सुन्दरदेवी सन्देश साप्ताहिकका किरण अधिकारीको विदुर–१ ढुंगेबजारस्थित घरमा क्षति पुगेको छ।
हिमालय टेलिभिजनका रामचन्द्र अर्यालको घरमा क्षति पुगेको तथा काठमाडौं शाखाका सदस्य लक्ष्मण डंगोलको घर नै बाढीले बगाएको महासंघले जनाएको छ।
पाँच सञ्चारमाध्यम प्रभावित
बाढी र विद्युत् अवरोधका कारण रसुवा एफएम, रेडियो लाङटाङ, रेडियो भैरवी, जालपा रेडियो र रेडियो नुवाकोट प्रभावित भएका छन्।
रसुवा एफएम र रेडियो लाङटाङको प्रसारण विद्युत् अवरुद्ध भएपछि रोकिएको छ। रेडियो भैरवीको प्रसारण केही दिन रोकिएको थियो भने जालपा रेडियोको प्रसारणसमेत विद्युत् अवरोधका कारण प्रभावित भएको छ।
रेडियो नुवाकोटमा विद्युत्, फाइबर, ब्याकअपलगायत सामग्रीमा क्षति पुगेपछि प्रसारण अवरुद्ध भएको महासंघले जनाएको छ।
महासंघले विपद्को समयमा पत्रकार तथा सञ्चारमाध्यमको सुरक्षालाई प्राथमिकतामा राख्दै बेपत्ताको खोजी, उद्धार र क्षतिग्रस्त सञ्चार संरचनाको पुनःस्थापनामा तत्काल कदम चाल्न सरकारसँग जोडदार माग गरेको छ।

