Harsamaya
तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी
प्रतिकात्मक तस्वीर ।

चितवन - जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा प्रहरी प्रशासन जुटेको छ । आन्दोलनका क्रममा लिइएका फोटो, भिडियो, प्रत्यक्षदर्शीका भनाइलगायत अध्ययन गर्दै प्रहरीले त्यस्ता व्यक्तिहरूको खोजी थालेको हो ।

घटनाका दोषीहरूका बारेमा सूचनासमेत प्रहरीले मागेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार आगो लगाउने, तोडफोड गर्ने र लुटपाटमा संलग्न एवं उक्साहटमा लाग्नेहरूको सूची तयार भइरहेको छ ।

केहीलाई प्रहरीले पक्राउ समेत गरेको छ । उनले भजे, ‘हामीले सार्वजनिक रूपमा सूचना समेत माग गरेका छौँ ।’ आम नागरिकसँग फोटो, भिडियोसहितका सूचना र पीडितसँग उजुरी समेत प्रहरीले माग गरेको छ ।

ती सूचनालाई मुख्य आधार मानेर प्रहरी परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले लुटिएका सामान राखिएका ठाउँहरूको खोजी समेत थालिएको बताए । त्यस्ता सामग्री फिर्ता गर्न भनिएको र नभएमा जफत गरी प्रचलित कानुनअनुसार कडा कारकाही गरिने उहाँले जानकारी दिए । 

सुरक्षा निकायका सबै अङ्ग सूचना संकलन र पहिचानमा जुटेको उनले बताए । भदौ २४ गते भएको तोडफोड, आगजनीमा प्रदर्शनकारी १४ जना र सुरक्षाकर्मी १२ जना घाइते भएका थिए ।

सो क्रममा एक जना प्रदर्शनकारीको मृत्यु समेत भएको थियो । प्रदर्शनकारीले ७९ वटा सरकारी कार्यालय, १६ वटा निजी घर एवं व्यावसायिक प्रतिष्ठान र तीन वटा पार्टी कार्यालयमा आगजनी, तोडफोड र लुटपाट गरेका थिए ।
 

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  २१:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update