Harsamaya
राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति न्यौपानेले गरिन् पदभार ग्रहण

काठमाडौं - प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिकी नवनिर्वाचित सभापति ईश्वरी देवी न्यौपानेले पदभार ग्रहण गरेकी छन् । बुधबार सभामुख देवराज घिमिरेद्वारा पद तथा गोपनीयताको शपथ लिए लगत्तै उनले पदभार पनि ग्रहण गरेकी हुन् ।

सोही क्रममा उनले मुख्य रूपमा विधेयक र ऐन कानुन बनाउनुपर्ने समिति भएको हुनाले अलि गम्भीर भएर आएको भन्दै समितिमा रहेका विधेयकहरू समन्वय गरेर सकेसम्म छिटो पारित गर्ने प्रयास गर्ने बत्ताइन् । 

उनले भनिन्, ‘यो समितिमा मुख्य रूपमा विधेयक र ऐन कानुन नै बनाउनुपर्ने समिति हो । त्यस कारण पनि अलि गम्भीर नै भएर आएको छु । यो समितिमा म सदस्यको हैसियतले पनि काम गरिरहेको हुनाले यो समितिमा रहेका विधेयकहरू समन्वय गरेर सकेसम्म छिटो पारित गर्ने प्रयास गर्ने छु ।’

सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभा हलमा भएको शपथ ग्रहण कार्यक्रममा गृहमन्त्री, कानुन न्याय तथा संसदीय मामिला मन्त्री, युवा तथा खेलकुद मन्त्री, रक्षा मन्त्री, विपक्षी दलका नेता, संसदीय दलका नेता, मुख्य सचेतक, समितिका सभापतिहरू लगायत सबैको उपस्थिति रहेको थियो ।

समिति सभापतिका लागि अरू कसैको उम्मेदवारी नपरेका कारण नेपाली काङ्ग्रेसकी सांसद न्यौपाने निर्विरोध निर्वाचित भएकी हुन् ।

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  १८:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update