
काठमाडौं - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विवाहपश्चात् महिलाले जन्म घर छोडेर कर्म घरमा जीवन बिताउँदा उत्पन्न हुने भावनात्मक दूरीलाई कम गर्ने अवसरका रूपमा पनि तिजलाई लिइने गरेको बताएकी छिन् ।
मंगलबार तीज पर्वको अवसरमा शुभकामना दिँदै उनले तीज पर्वले चेली र माइतीबिचको आत्मीयता, परिवार र साथी–सङ्गी बिचको न्यानो सम्बन्ध तथा समाजभित्रको भावनात्मक एकतालाई अझ प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।
उनले भनिन्,‘विवाहपश्चात् महिलाले जन्म घर छोडेर कर्म घरमा जीवन बिताउँदा उत्पन्न हुने भावनात्मक दूरीलाई कम गर्ने अवसरका रूपमा पनि तीजलाई लिइन्छ । यस पर्वले चेली र माइती बिचको आत्मीयता, परिवार र साथी–सङ्गी बिचको न्यानो सम्बन्ध तथा समाजभित्रको भावनात्मक एकतालाई अझ प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्दछ’ ।
उनले हरितालिका तीज पर्वले हाम्रो जीवनशैली, संस्कृति र सहिष्णुताको उज्ज्वल परम्परा बोकेको उल्लेख गरेकी छन् ।पछिल्ला वर्षहरूमा तीज पर्व मनाउने क्रममा देखिएको केही भड्किलोपन र खर्चिलोपन चिन्ताको विषय बनेको बताउँदै उनले सबैले यस पर्वसँग गाँसिएका धार्मिक र सांस्कृतिक मूल्यहरूलाई संरक्षण गर्दै, समाजमा देखिने विकृति र विसङ्गतिलाई हटाउन प्रयास गर्नु आवश्यक रहेको बताइन् ।
तीज पर्वलाई लैङ्गिक समानता र महिला सशक्तीकरणको लागि सामाजिक जागरण तथा सचेतना अभिवृद्धि गर्ने महत्त्वपूर्ण मञ्चका रूपमा समेत लिन सकिने उनको भनाई छ ।