
काठमाडौँ - भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसी आज देशभर विभिन्न धार्मिक विधि-विधानसहित मनाइँदैछ। यस दिनलाई पितृ दिवसका रूपमा पनि चिनिन्छ।
सनातन धर्मावलम्बीले आज घर-घरमा देवकार्य तथा पितृकार्यमा प्रयोग हुने पवित्र कुश भित्र्याएर वर्षभरि प्रयोग गर्ने परम्परा छ। धार्मिक मान्यताअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलिएको कुशलाई घरमा राख्दा परिवारमा कल्याण हुने विश्वास गरिन्छ।
यस अवसरमा छोराछोरीहरूले जीवित बाबुलाई रुचिअनुसार भोजन खुवाएर सम्मान गर्ने चलन छ भने दिवङ्गत बाबुको सम्झनामा गोकर्णेश्वर महादेव मन्दिर र बेत्रावतीसहित विभिन्न तीर्थस्थलमा भीड लाग्ने गरेको छ। तर्पण, पिण्डदान र सिदादानमार्फत बाबुप्रति श्रद्धा प्रकट गर्ने धार्मिक प्रथा आज पनि जीवित छ।
धर्मशास्त्रविद्हरूका अनुसार आजको दिन थोरै दान गरे पनि हजारौँ गुणा फल प्राप्त हुने भएकाले यसलाई पुण्य पर्वका रूपमा पनि मानिन्छ।
यही दिनमा नेपाली साहित्यका युवाकवि मोतीराम भट्टको १६०औँ जन्मजयन्ती पनि देशभर साहित्यिक कार्यक्रम गरी मनाइँदैछ। उनले भानुभक्त आचार्यको जीवनी प्रकाशन गरेर नेपाली साहित्यमा ऐतिहासिक योगदान पुर्याएका थिए।