Harsamaya

क्यानडामा नेपाली आप्रवासनको इतिहास लामो छ । सन् ६० को दशकदेखि त्यहाँ मान्छेहरू गएर बसेको देखिन्छ । साधरणतया पहिले अध्ययनका सिलसिलामा त्यहाँ गएका र अध्ययनपछि त्यतै बसेका देखिन्छन् । ६० को दशकमा गएको पुस्ता त हाल सक्रिय नहुन सक्छन् ।अर्थात् सेलाइसकेको अवस्था छ । उहाँहरूका छोराछोरी, नाति–नातिनीहरू छन् । उनीहरू नेपाली समाजसँग नजिकिएका छैनन् । त्यसपछि, क्यानडाको इमिग्रेसन पोलिसि(अध्यागमन नीति)ले २०१० तिरबाट फेरी नयाँ नीति ल्यायो र प्रोफेसनलहरूलाई आकर्षित गरेको देखिन्छ । हामीहरू पनि त्यसरी नै त्यहाँ पुगेका हौँ ।

विशेष गरी त्यहाँ प्राविधिक रूपमा काम गरिरहेकाहरूको जमात छ । धेरैजसो इन्जिनियरहरू वा एकाउन्टेन्टहरू छन् । विविध क्षेत्रका एजुकेटेड मान्छेहरू छन् । त्यस्तै एउटा ठूलो जमात भने रेस्टुरेन्ट बिजनेसमा छन् । ती पहिले सेफ वा कुक भएर गएकाहरू हुन्। आर्थिक रूपमा निकै सफल व्यवसायीहरू पनि छन् । पेसागत रूपमा सफल, माथिल्लो पदमा पुगेका गभर्मेन्ट अफिसरहरू पनि छन् ।

म आफैँ पनि करिब १० वर्ष सरकारी सेवामा काम गरेर अहिले प्राइभेट कन्सल्टिङ गर्छु । अझ व्यापार गर्ने, व्यापारमा पनि रेस्टुरेन्ट रन गर्नेहरू छन् ।

रियल स्टेटको क्षेत्रमा अहिले नेपालीहरूको ठूलो ग्रुप छ । क्यानडा आफैँमा विराट देश भएकाले त्यहाँ विभिन्न किसिमका नेपालीहरू, विभिन्न पेसामा संलग्न छन् । पछिल्लो समय अर्थात् कोभिडपछि भने विद्यार्थी युवा पुस्ता अझ आकर्षित भएको देखिन्छ । तर उनीहरूका समस्याहरू छन् । त्यो कुरा त्यहीँ गएर १०–१५ वर्ष बसिसकेका मान्छेहरूले थाहा पाएर उनीहरूलाई कसरी सहयोग गर्न सकिन्छ भनेर लागिरहेका पनि छन् ।

विद्यार्थीले कस्तो शिक्षण संस्था छान्ने ?
नेपालबाट  धेरैजसो प्लस टु गरेर गएका विद्यार्थीहरू कलेज पढ्न जाँदा  ब्याचलर्स पढ्न भनेर गएको भ्रममा हुन्छन् । उनीहरूले कलेजमा एडमिसन गर्छन् । तर कलेजले ब्याचलर्स डिग्री दिँदैन, कलेजले डिप्लोमा  मात्र दिन्छ । त्यो कलेज डिप्लोमा भनेको चाहिँ ब्याचलर्स होइन । जस्तो कि, आइटी पढ्न जान्छु भने पनि आइटीमा ब्याचलर्स इन इन्फरमेसन टेक्नोलोजी अथवा ब्याचलर्स इन इन्फर्मेसन एन्ड कम्प्युटर इन्जिनियरिङ भन्ने होइन । त्यो कलेज डिप्लोमा  मात्रै हो,पाउन त्यसले निकै कठिन हुन्छ। त्यो मध्यम स्तरीय जनशक्ति हो भने ब्याचलर्स डिग्री उच्च स्तरीय जनशक्ति हो।

कलेज डिप्लोमा भनेको झन्डै–झन्डै नेपाली हिसाबले भन्ने हो भने सिटिइभिटीले दिने डिप्लोमा जस्तो मात्रै हो । त्यसले जो विद्यार्थीहरू साँच्चै म ब्याचलर्स, मास्टर्स वा पीएचडी गर्छु भनेर जान्छन्, ती विद्यार्थीहरू चाहिँ सम्भवतः झुक्किएर त्यहाँ पुग्छन् र कलेज डिग्री लिन्छन् । त्यो कलेज डिग्रीबाट एकदमै गाह्रो छ फेरी युनिभर्सिटीमा जानलाई । जान सकिँदैन भन्ने होइन, तर एकदमै गाह्रो छ । युनिभर्सिटी अफ टोरन्टो, युनिभर्सिटी अफ हेलिफ्याक्स जस्ता थुप्रै युनिभर्सिटीहरू छन् । ती युनिभर्सिटीमा भयो भने चाहिँ ब्याचलरर्स डिग्री पाइन्छ । सामाजिक  स्थानान्तरण र साँस्कृतिक झट्का  लगायतका विविध कारणले गर्दा केही नेपाली भाइबहिनीहरू चाहिँ डिप्रेसनको सिकार भएको, दुर्व्यसनीमा  फसेको, केही आर्थिक अभावले अप्ठ्यारो अवस्थामा परेको भन्ने पनि सुनिन्छ तर समग्रमा नेपालीहरूले क्यानडामा राम्रो गरेका छन् ।

पहिले र अहिलेको भिन्नता
सन् ६० देखि नै नेपालीहरू विभिन्न सहरहरूमा बसोबास गर्दै आएका छन् । क्यानडा विराट देश हो । विभिन्न सहरहरूमा छरिएर बसेका कारणले गर्दा सबै प्रमुख सहरहरूमा, एनआरएन स्थापित हुनुभन्दा अगाडिदेखि कम्युनिटी एशोसिएशनहरुको  रेकर्ड छ । अहिले एनआरएनए क्यानडाले समग्रमा जे गर्न खोजिरहेको छ, हुन त पहिलेदेखि नै त्यो कामहरू  स्थानीय स्तरमा भई नै राखेका थिए । ती सबै कम्युनिटी एसोसिएसनहरूले नयाँ आउनेलाई सपोर्ट गर्ने गरेका छन् । पहिले त कस्तो किसिमको संस्कृति नै थियो भने थोरै मान्छे आउने भएकाले आएका मान्छेहरूलाई एयरपोर्टसम्मै लिन गइदिने, घरमा ल्याएर एक–दुई रात बसाइदिने, खाना खुवाइदिने, घर गाउँ मिस नहोस् भनेर त्यस्तो गर्ने पनि चलन थियो । साना साना कम्युनिटी एसोसिएसनहरूले त्यो गरिरहेका थिए । तर अहिले चाहिँ, त्यो अलिकति फरक भयो । अहिले जनसङ्ख्या बढेका कारणले गर्दा अलि फरक भएको छ ।

एनआरएन भूमिका
यति बेला एनआरएन क्यानडाले नेपाली समुदायलाई एकताबद्ध गराउने गरी कामहरू गरिरहेको छ । साना–साना समुदायमा केन्द्रित नेपाली क्यानेडियन एसोसिएसनहरूसँग समन्वयमा सहयोग गरिरहेको छ। उनीहरूको जस्तो किसिमको डिमान्ड छ, त्यो डिमान्डका आधारमा सपोर्ट गर्ने प्रोग्रामहरू लिएर आइरहेको छ । हेल्प गर्न चाहनेहरूका लागि रिसोर्स ल्याइदिने काम, त्यहाँको प्रोभिन्सियल गभर्मेन्टसँग अथवा त्यहाँको फेडेरल गभर्मेन्टसँग कनेट गरेर रिसोर्स ल्याइदिने कामहरू भइरहेका छन् । त्यस्ता किसिमका कामहरूमा चाहिँ एनआरएन क्यानडा सक्रिय छ ।

विद्यार्थीको आकर्षण र जागिर
नेपाली विद्यार्थी अर्थात् इन्टरनेशनल स्टुडेन्टलाई आकर्षित गर्न केही नीतिगत परिवर्तनहरू गरेको छ । पढिसकेपछि एक वर्षपछि पिआर लिनलाई चाहिँ सजिलो बनाइदिएको थियो। त्यसले गर्दा धेरैजसो युवा विद्यार्थीहरू चाहिँ त्यसमा आकर्षित भएको देखिन्छ ।

पछिल्लो समयमा भएका नीतिहरूमा पनि अलिकति चेन्ज गरेको छ । त्यसले गर्दा एक वर्ष आफ्नै फिल्डमा काम गरेको हुनुपर्ने आदि इत्यादि ल्याइदियो । त्यसलाई पनि कडाइ गरेका कारणले गर्दाखेरि धेरै विद्यार्थीहरू समस्यामा परे । उता गइसकेकालाई त चुनौती नहोला । तर, अब जाने विद्यार्थीहरूलाई चाहिँ चुनौतीपूर्ण हुन सक्ने अवस्था छ ।  किनभने विद्यार्थीहरूले डिग्रीभन्दा पनि पिआरको आसमा गएका हुन भन्ने देखिन्छ । त्यस कारण पनि गभर्मेन्टको पोलिसि परिवर्तन भएको हुनसक्छ ।

क्यानडामा नेपालीको सङ्ख्या त थोरै छ । भारतीय अथवा चिनियाँ मूलका विद्यार्थीहरू धेरै जाने भएकाले नीतिगत कडाइ गरेको हुनुपर्छ । त्यहाँ गएका इन्टरनेशनल स्टुडेन्टहरूले भनेअनुसार चाहिँ नेपाली कन्सलटेन्सीहरुले त्यहाँ गएको भोलिपल्टैदेखि काम पाइन्छ भनेर भन्ने गरेका छन् ।  काम पाउन चाहिँ एकदमै गाह्रो छ । काम पाउन त्यहाँको लोकल मान्छेहरूलाई नै पनि गाह्रो छ । हामी जस्तो पहिलो पुस्ताका नेपालीका छोराछोरीलाई नै काम पाउन मुस्किल छ । नयाँ गएकालाई त झनै गार्हो छ ।

नेपालमा अर्कै किसिमको सेटअपमा हुर्केका अर्थात् बाबा–आमाको काखमा बसेर पढेका विद्यार्थीहरूलाई केही कठिनाइ भएको देखिन्छ । काम पनि गर्नुपर्ने, बसाइको ठेगान नुनेलगायतका चुनौतीहरू छन् । यस्ता कारणले पोलिसीले कडाइ गरेको हुनसक्छ । काम नपाउने र काम पाए पनि शोषणमा पर्ने पनि देखिएको छ । जस्तो कागजमा चाहिँ नि प्रोभिन्सियल गभर्मेन्टको एक्जाम्पल लिने हो भने उसले १७.२ डलर पर आवर दिनुपर्छ । तर, नेपालीहरूले अथवा आफ्नै चिनेका मान्छेहरूले नै पनि त्यो १७.२ डलर नदिएर १३, १४ डलर दिएर काम गराएको भन्ने पनि छ । पोलिसीको चुनौती त छँदै नै छ ।

नेपाली दूतावासको इतिहास
नेपाली दूतावास अटावामा छ । नेपाली दूतावास धेरै नै योङ छ । नेपाली दूतावासको इतिहास दुई दशकको पनि छैन ।  पहिले कसरी काम सुरु गर्ने भन्नेमै कन्फ्युजनमा हुन्थ्यो । तर पछिल्लो समयमा गएको एनआरएनको कार्यसमितिसँग नजिक भएर काम गरेका कारण केही सहज भएको देखिन्छ । जसले गर्दा विभिन्न सहरमा रहेका नेपालीहरूलाई, पासपोर्टका समस्या अथवा नेपालीले भोग्नुपरेका समस्याहरूलाई समाधान गर्नलाई राजदूतावासले त्यहाँ बसेर सहयोग गरिरहेको छ । तर काठमाडौंमा क्यानडाको दूतावास छैन । दिल्ली जानुपर्ने अवस्था छ । अनि दिल्लीमा चाहिँ भोग्नुपर्ने समस्याहरू धेरै छन् । हामीले प्राइभेट लेभलबाट अथवा एनआरएनकै लेभलबाट पनि अप्रोच गरेका छौँ । नेपालमा पनि दूतावास चाहिन्छ भनेर भनेका छौँ । यसमा ट्रेड पनि मुख्य कारण बन्न सक्छ । दुई देशको सम्बन्ध हालको अवस्थामा ट्रेडबाट रिलेटेड हुन्छ । अहिले भने क्यानडाले इन्डियाबाटै म्यानेज गर्ने भनेर हेरिराखेको अवस्था छ ।

नेपालीको सङ्ख्या र कूटनीति
क्यानडामा नेपालीको सङ्ख्या यति नै भन्ने छैन । तर एक लाख नेपाली छ भन्ने अनुमान छ । त्यसको आधारमा क्रमिक रूपमा सङ्गठित हुँदै छन् । दुइटा मेजर सङ्गठनहरू छन् । एउटा चाहिँ कम्युनिटी लेभलकै विभिन्न सहरमा कम्युनिटी एसोसिएसन, नेपाली कम्युनिटी एसोसिएसनहरू छन् भने, तिनीहरू सबैको साझा सङ्गठनको रूपमा एनआरएन बन्दै छ। एनआरएन २००७ मा स्थापना भएको हो । १९८० को दशकदेखि नै कम्युनिटी एसोसिएसन हरु भने थिए। तथापि हाम्रो नेतृत्वले त्यहाँको लिडरसिपसँग आँखा जुधाएर बोल्न सक्ने क्षमता अझै विकास गरिसकेको छैन । जब कि ट्याक्स पेयरको हिसाबले वा प्रोफेसनलहरु धेरै हाइ लेभलका छन् ।

हामी जस्ता अलिकति कपाल फुलेका जेनेरेसन चाहिँ यहाँ रिटायर हुन आउन सकिराख्या छैनौँ । ६ महिनाभन्दा बढी क्यानडा बाहिर बस्नासाथै नन रेजिडेन्शियल क्यानेडियन भनेर काउन्ट गर्छ । काउन्ट गरेपछि नेपालीले सिधै २५ प्रतिशत ट्याक्स तिर्नुपर्छ । अब त्यो २५ प्रतिशत ट्याक्स भनेको धेरै हो । र त्यो ट्याक्स चाहिँ पेन्सनमा पनि तिर्नुपर्ने हुन्छ ।  यदि हामीले डबल ट्याक्स अवोइडेंस एग्रिमेन्ट गर्न सक्यौँ भने, २५ प्रतिशत लाई घटाएर १० प्रतिशतमा झार्न सक्यौँ भने धेरै नेपालीहरु आफ्नै मातृभूमिमा रिटायर हुन आउने सम्भावना छ । त्यस्ता कुराहरू नेपाल एम्बेसीसँग पनि त्यही हिसाबले सहकार्य गर्नुपर्छ भन्ने छ ।

हामी नेपाली एकदम संशय अवस्थामा छौँ । कूटनीतिक हिसाबले नेपाललाई क्यानडाले हेर्ने भनेको भारतको झ्यालबाट मात्र हेर्ने हो । कतिपय अवस्थामा हामी भारतीयहरू जस्तै हौँ तर उही होइनौँ । कूटनीतिक रूपमा हामीलाई अझै पनि भारतीय लेन्सबाट हेर्दाखेरि समस्या हुन्छ । तर, दुई–तीन वटा सेक्टरबाट नेपालले एप्रोच गर्दाखेरि उचित हुन्छ ।  हामीले सँधै टुरिजम इन्डस्ट्रीका मात्रै कुरा गरेर बस्यौँ, तर टुरिजम मात्रै होइन नि । टूरिज्म त एउटा कम्पोनेन्ट मात्र हो । हामीले मेडिकल टुरिजम बारे नीतिगत डिपार्चर नै गरेनौँ। ग्लोबल रिटायार्मेंट हब बारे पनि सोचेनौँ।

सुधारका पक्ष
नेपाल सरकारले सुरु गर्नुपर्ने कूटनीति भनेको एउटा मात्र होइन । रिसोर्स भन्ने कुरा आर्थिक मात्र होइन । धेरै कुरा जोड्न सकिन्छ । नेपालले सिक्न सक्ने सबैभन्दा फन्डामेन्टल कुरो के हो लोकल गभर्मेन्ट र लोकल डेभलपमेन्ट कसरी गर्ने भन्ने सिक्न सकिन्छ । १७ वर्षसम्म हामीसँग स्थानीय सरकार थिएन अब स्थानीय सरकार आइसककेपछि केहि चेन्जेजहरु देखिएको छ । अहिलेको धेरै अपडेट टेक्नोलोजी क्यानडामा प्रयोग भइरहेको छ । त्यस्तै किसिमको टेक्नोलोजी नेपालले प्रयोग गर्न सके, प्लानिङ टूल्सहरु युज गर्न सक्यो भने अझ व्यबस्थित हुनसक्छ ।

नेपालको इतिहास नै हेर्ने हो भने, नेपाल  सानासाना राज्यहरु मिलेर बनेको देश हो । ती स–साना क्षेत्रहरुको विकासले नै नेपालको समग्र विकास हुन सक्छ । त्यसको सबभन्दा फन्डामेन्टल ओभरलुक गरेको भनेको ल्याण्ड युज प्लानिङ हो । भू–उपयोग नीति र योजना छैन । एउटा सर्टेन एरियामा कमर्सियल, एउटा सर्टेन एरियामा रेसिडेन्सियल, अर्कोमा इन्डस्ट्रियल, इन्स्टिच्युसनल हुनुपर्छ । ल्याण्ड युज प्लान गर्‍यो भने अझ राम्रो अझ दिगो विकास हुन सक्छ । विकासमा नेपालले सिक्न सक्ने भनेको स्थानीय विकास हो । क्यानडाले के गर्छ भनेर भन्दा, यूएस डोमिनन्ट भए पनि उसले आफ्नो इन्टिग्रिटी, आफ्नो, आफ्नो अस्तित्वलाई चाहिँ बचाएर राख्न सकेको छ । नेपालले पनि सकेको छैन भन्या होइन । तर, कहाँ बढी इन्फ्लुएन्स हुन्छ भन्ने हो ।

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  ०८:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update