
जनकपुर - जनता समाजवादी पार्टी नेपालका जिल्ला तथा मधेश प्रदेशका पदाधिकारी एवं नेता तथा कार्यकर्ताहरूले जनकपुरधाममा सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।
मंगलबार जनकपुरधामको जनक चोकमा सडक अवरुद्ध गर्दै उनीहरूले ओली सरकार मुर्दावाद, झुठो मुद्दा खारेज गर, गौर हत्याकाण्डका मुख्य योजनाकार प्रभु साहलाई कारबाही गर लगायतका नारा लगाएका छन् ।
जनता विरोधी भूमि अध्यादेशको पक्षमा जसपा नेपालले संसद्मा समर्थन नगरेपछि सरकारले षड्यन्त्रपूर्वक जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव माथि गौर हत्याकाण्डको आरोप लगाएर फसाउन खोजेको जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश संसदीय दलका प्रमुख सचेतक एवं मधेश प्रदेश सभा सदस्य राम अशिष यादवले बताए ।
अध्यक्ष यादवले पिछडिएका वर्गका अधिकारका लागि लड्दा उनलाई सकाउने खेलमा ओली सरकार लागेको उनले अfरोप लगाए । सरकारले उपेन्द्र यादवविरुद्धको मुद्दा फिर्ता नलिए भोलीदेखि अझ सशक्त आन्दोलनमा उत्रिने प्रमुख सचेतक यादवले चेतावनी दिए । गौरमा भएको हत्याकाण्डको अनुसन्धान अघि बढाउन न्यायाधीश द्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले सोमबार परमादेश दिएको छ ।
०६३चैत ७ गते रौतहटको गौरमा मधेशी जनअधिकार फोरम र माओवादीबिच एकै ठाउँमा कार्यक्रम गर्ने विषयमा झडप हुँदा २८ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो ।