Harsamaya
विपिनको रिहाइका लागि अधिकतम कूटनीतिक पहल गरिरहेका छौँ : परराष्ट्रमन्त्री राणा

काठमाडौं - परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्रालयले अधिकतम रूपमा कूटनीतिक पहल जारी राखेको बताएकी छन् । 

सामाजिक सञ्जालमार्फत उनले आफू उपस्थित भएका राष्ट्रसङ्घीय महासभादेखि अन्तर्राष्ट्रिय मञ्च, विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठक तथा भेटवार्ताहरूमा सबैसँग विपिनको रिहाइका लागि विशेष आग्रह गरिरहेकी बताएकी छिन् ।  

उनले लेखेकी छन्, ‘परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि यो मुद्दालाई प्राथमिकतामा राखेर काम सुरु गरेकी हुँ । यो एक वर्ष म उपस्थित भएका राष्ट्रसङ्घीय महासभादेखि अन्तर्राष्ट्रिय मञ्च, विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठक तथा भेटवार्ताहरूमा सबैसँग विपिनको रिहाइका लागि विशेष आग्रह गरिरहेकी छु ।’

यस्तै, मन्त्री डा.राणाले गत असोजमा राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन न्यु योर्क पुगेका बेला त्यहाँ उपस्थित विश्वका नेताहरू, जि ७७ प्लस, जि २०,  एलडिसी समूह लगायतका बैठकहरूलाई सम्बोधन गर्ने क्रममा पनि विपिन  रिहाइको विषयमा विश्व समुदायको ध्यानाकर्षण गराएकी थिइन् । 

त्यसै गरी गत असोजमा दोहामा आयोजित एलडिसी सम्मेलनमा सम्बोधन र त्यसपछिका साइडलाइन भेटहरूमा पनि उनले सो विषय उठाएकी थिइन् । 

इजरायल र हमासबीच युद्ध विरामको तयारी भएपछि त्यसमा संलग्न र सम्बद्ध देशका विदेश मन्त्रीहरुसँग फोनमा र ती देशका नेपालस्थित राजदूतहरूसँग भेटेरै विपिनको रिहाइका लागि सहयोग गर्न आग्रह गरे । 

उनले गत माघमा कतारका विदेश राज्यमन्त्री डा.मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोन वार्ता गरी पहिलो चरणमै विपिनको रिहाइका लागि आग्रह गरेका थिइन् । 

मन्त्री डा राणाले इजरायलका विदेश मन्त्री गिडियन सारसँग पनि फोन वार्ता गरी सोही आग्रह गरिन् । हमासहरुले अपहरणमुक्त गर्न लागेका भनिएका व्यक्तिहरूको पहिलो चरणमा नै विपिनको रिहाइका लागि इजरायल सरकारले पहल गरिदियोस् भन्ने आग्रह उनले विदेश मन्त्रीसँग गरेकी थिइन् । 

त्यसै गरी, उनले इजिप्टका विदेश मन्त्री डा.बदर अब्देल–अति तथा इरानी विदेश मन्त्रीसँग फोन वार्ता गरी विपिनको रिहाइका लागि विशेष पहल गरिदिन नेपाल सरकारका तर्फबाट आग्रह गरिन् । 

त्यसै गरी उनले गत चैतमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सहायक तथा दक्षिण र मध्य एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक रिकी गिलसँग समेत नयाँ दिल्लीमा भेट गरी विपिनको रिहाइमा अमेरिकाको सहयोग मागेकी थिइन् । 

उनले मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग पनि गत फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीले फोन मार्फत् ध्यानाकर्षण गराएकी थिइन् । 

उनले हाल परराष्ट्र मन्त्रालयको परामर्शमा र इजरायल सरकारको सहयोगमा विपिनकी आमा र बहिनी इजरायल पुगेका र उनीहरूले इजरायली राष्ट्रपतिसँग भेट गरी विपिनको रिहाइको अपिल गरेका जानकारी पनि गराइन् । 

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update