
काठमाडौं - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति एउटा पद भएकाले पदावधी सकेपछि राजनीतिमा फर्कन मिल्ने बताएकी छिन् ।
सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रपति आवधिक हुने भएकाले अवधि सकिएपछि राजनीतिमा फर्कन मिल्ने बताएकी हुन् ।
गणतन्त्र र राजतन्त्रमा फरक–फरक संवैधानिक व्यवस्था हुने र राजा भनेको व्यक्ति भएको तर राष्ट्रपति भनेको पद भएकाले राजनीतिमा फर्कन कुनै बाधा नभएको उनको भनाइ छ ।
उनले आफु पार्टीसँगको आफ्नो ४५ वर्ष लामो राजनीतिक यात्राको स्मरण गराउँदै एमालेकै नीति–कार्यक्रमअनुसार अघि बढ्ने स्पष्ट पारे । एमालेले आफूलाई स्वीकार नगरे पनि आफू एमाले नै भएको उनले बताइन् ।
भण्डारीले आफूले राष्ट्रपतिको पदावधि सक्किएपछि पार्टीको सदस्यता नवीकरण गरेको र अहिले एउटा संगठित सदस्यको हैसियतले काम गरिरहेको जिकिर गरिन् ।
पूर्व राष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्किएपछि संविधानको औचित्य सकिएन भन्ने प्रश्नमा पूर्व राष्ट्रपति भण्डारीले यस्तो विषयमा संविधानविद्हरुले जवाफ दिने उल्लेख गरिन् ।
उनले मुलुकमा धेरै वामपन्थी दलहरु रहेकाले वाम एकता हुने सम्भावना नदेखेको बताइन् । एमालेले गरेको सदस्यता नवीकरण खारेजसम्बन्धी निर्णयबारे गरिएको प्रश्नमा भण्डारीले आफूलाई औपचारिक जानकारी नआएको बताइन् ।