
काठमाडौं - नेपाली कांग्रेसले बिहीबार पार्टी प्रवेश गराएका मधेशी नेता देवेन्द्र यादवलाई आज पार्टीबाट निष्कासन गरेको छ । बिहीबार बिहान पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेस प्रवेश गराएर सदस्यता दिएका यादवको सदस्यता खोसिएको हो ।
कांग्रेसले एक विज्ञप्ति जारी गर्दै यादवको फौजदारी कानुनी कारबाही प्रक्रिया रहेको भन्ने थाहा पाएपछि उनले प्राप्त गरेको पार्टी सदस्यता खारेज गरेको उल्लेख गरिएको छ । कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उनलाई पार्टी प्रवेश गराउने व्यक्तिहरूबारे गम्भीरतापूर्वक जानकारी लिइंदै गरेको जनाइएको छ ।
यादव मधेशी राजनीतिमा सक्रिय थिए । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीमा २०६४ मा आबद्ध भएका यादव सो पार्टीमा महासचिवसम्म भएका थिए । पछि राजपा नेपाल बनेपछि उनी सो पार्टीमा पनि महासचिव भएका थिए ।
२०७४ को चुनावमा राजपा नेपालले यादवलाई टिकट नदिएपछि उनी स्वतन्त्र चुनाव लडेर पराजित भएका थिए । त्यसपछि उनी निष्क्रिय रहँदै आएका थिए । उनी एकपटक एमालेमा पनि प्रवेश गरेका थिए । बिहीबार उनी कांग्रेसमा प्रवेश गरेका थिए ।
आफू र आफ्नो परिवार पुरानो कांग्रेसी भएको बताउँदै कांग्रेस प्रवेश गरेका उनलाई एक दिनमै पार्टीबाट निष्कासन गरिएको हो ।
मधेस आन्दोलनका क्रममा ०७२ भदौ २५ गते आन्दोलनकारीले असई विकको हत्या आरोप लागेको छ । विकको हत्यामा महोत्तरी जिल्ला अदालतले ०८० मंसिर २८ गते ७ जनालाई जन्मकैदको सजाय सुनाएको थियो।
यादव प्रहरीको फरार सूचीमा छन्। उनीविरुद्धको मुद्दा भने महोत्तरी जिल्ला अदालतमा मुलतवीमा राखिएको छ।