
सिन्धुपाल्चोक - अरनिको राजमार्गको कोदारीमा एक सातादेखि सडक अवरुद्ध हुँदा चीनबाट भित्रिएका फलफूलहरू कुहिन थालेका छन् । बाटो अवरुद्ध हुँदा नेपाल छिरेका कन्टेनरका सामानहरू कुहिन थालेको व्यवसायीहरूले बताएका छन् ।
नेपाली भूभागमा प्रवेश गरेका कन्टेनरका फलफूल कुहिन थालेपछि व्यावसायीले फलफूल बोकाएर पहिरो पार गर्न थालेका हुन् । ती फलफूल तातोपानीका मजदुरलाई बोकाएर कन्टेनरबाट पल्टी गरेर भन्सार यार्डमा लगेको ढुवानी कर्ताहरुले बताए । नाकाको सडक खोल्न अझै केही समय लाग्ने भएकाले कुहिने सामान बोकाएको भन्सार ल्याउन थालेको तातोपानी भन्सार कार्यालयले जनाएको छ । कतिपय फलफूल बोकेका गाडी चीनमा नै अड्किएको छ त्यसमा समेत समस्या आएको ढुवानी कर्ताहरुले बताएका छन।
हरेक बर्ष इकोमा पहिरो झरेर दुख दिने गरेको छ । पानी सँगै आएको पहिरोमा अहिले लेदो बग्दै छ। पैदल यात्राीलाई समेत हिँडेर पार गर्न गाह्रो भएको छ । भोटेकोशी गाउँपालिका- २ का वडाध्यक्ष कुमार श्रेष्ठले एक साता देखि बन्द रहेको सडक पहिरो पन्छाएर खोल्ने प्रयास भइरहेको जानकारी दिए ।
‘हामीले माथिबाट आएको पहिरो पन्छाएर सडक खोल्न लागि परेका छौं, पहिरो माथि बस्ती छ त्यसलाई समेत जोगाएर सडक संचालनमा ल्याउने प्रयासमा छौं’, उनले भने, ‘अहिले पनि सडक खुलाउन सडक डिभिजन कार्यालय चरिकोटको अगुवाइमा नाका सम्बद्ध व्यावसायी जुटिरहेका छन् ।’
रसुवा नाकामा बाढीले क्षति पुर्याएपछि तातोपानी नाकाबाट आयातको चाप बढ्दो क्रममा छ । तर नाकामा सडक समस्याका कारण झण्डै महिना दिन अघि हालेका सामान नाकामा रोकिएपछि व्यावसायीहरू मारमा परेका छन् । व्यापारीले हालेका दशै लक्षित सामान नाकामै अड्किएपछि उनीहरु निराश बनेका हुन् ।
नेपाली व्यवसायीहरुले सामान हालेको झन्डै ६ सय कन्टेनर लोड भएर चिनियाँ भुभागमा अड्किएको छ भने कतिपय सामान न्यालमको वायरहाउसमा छन् ।
समयमै सडक सञ्चालन नहुने हो भने दशैं तिहारका लागि ल्याइएका सामान समयमा नै बजारमा नपुग्ने सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले जनाएको छ । संघका अध्यक्ष बुद्धराज बस्नेतले दशैं तिहारको लागि हालिएको सामान बजारमा समयमा नपुग्दा महङ्गी बढ्ने बताए ।
‘जाडो महिनाको रेडिमेट सामान जल मार्गबाट हालेका छन्’ , उनले भने, ‘ती सामान दशै तिहार पछिको लागि हो तर अहिले दशै तिहारको लागि हालिएको सामान तातोपानी नाका र चिनियाँ भागमा अड्किएका छन् । सामान बजारमा समयमा नपुग्दा महङ्गी बढ्ने निश्चित छ ।’