Harsamaya
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-७ बस्ने तनहुँ भानु नगरपालिका-११ घर भएका ५५ वर्षीय योगराज गुरूङ, काठमाडौं चन्द्रागिरी नगरपालिका-४ बस्ने सर्लाही लालबन्दी नगरपालिका-४ घर भएका ३८ वर्षीया खेम कुमारी श्रेष्ठ मानन्धर, काठमाडौं टोखा नगरपालिका-७ बस्ने बाग्लुङ जैमिनी नगरपालिका-८ घर भएका ५२ वर्षीय रामचन्द्र शर्मा र ललितपुर, ललितपुर महानगरपालिका-१४ बस्ने सुनसरी धरान उपमहानगरपालिका-११ घर भएका ६२ वर्षीय राजु मगर रहेका छन् । 

पक्राउ मध्ये योगराजले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ, खेम कुमारीले युएई पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ५ लाख रूपैयाँ, रामचन्द्रले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ३५ हजार रूपैयाँ र राजुले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले योगराजलाई टोखा नगरपालिका-९ बाट, खेम कुमारीलाई काठमाडौं महानगरपालिका-९ बाट र रामचन्द्रलाई काठमाडौं टोखा नगरपालिकाबाट बुधबार तथा राजुलाई ललितपुर महानगरपालिका-१४ बाट बिहीबार पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको    छ । 

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update