Harsamaya
आज पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
संघिय संसद सचिवालय ।

काठमाडौं - आज संघीय संसद अन्तर्गतका पाँच वटा समितिको बैठक बस्दै छ । आज दिउसो १ बजे अर्थ समितिको बैठक सिंहदरबारमा बस्दै छ । बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सांसदहरू र विज्ञहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै,दिउसो १२ः १५ बजे बस्न लागेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिले समितिबाट भएका स्थलगत अनुगमनका प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै,आज बिहान ९ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी विद्यमान कानुनी जटिलता सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

यसै गरी, आज बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा बेरुजुको आयतन उच्च भएका १० मन्त्रालयका सचिव र सो अन्तर्गतका विभागका प्रमुखसँग छलफल गर्ने कार्यसूची राखिएको छ ।

त्यसै गरी, बिहान ९ः १५ बजेदेखि सुरु हुने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन संयुक्त समितिको बैठकमा सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवन निर्माणको हालको कार्य तालिका र सो कार्य तालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारी सम्बन्धमा छलफल हुने छ ।

 

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update