Harsamaya

काठमाडौं - वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक डा.द्वारिका उप्रेतीले वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई नेपालमा नै स्थापित गर्ने व्यवस्था बोर्डले गर्ने बताएका छन् । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले वैदेशिक रोजगारबाट नेपाल फर्किएका नेपालीहरूलाई स्वदेशमा नै स्थापित गराउने भन्दै उनीहरूले ल्याएको सीपलाई प्रमाणीकरण गर्ने काम पनि वैदेशिक रोजगार बोर्डले गर्ने गरेको बताए ।

उनले भने, ‘विदेशबाट आफ्नो समय सकाएर नेपाल फर्किएका नेपालीहरूलाई स्वदेशमा नै स्थापित गराउने, आफ्नै पालिकामा स्थापित गराउने र वैदेशिक रोजगारमा एक पटक गइसकेको व्यक्ति पुनः जान नपर्ने अवस्था निर्माण गर्ने गरी उद्यमशीलता तालिमको व्यवस्थापन गर्ने, तालिम दिने र उनीहरूले ल्याएको सीपलाई प्रमाणीकरण गर्ने काम पनि वैदेशिक रोजगार बोर्डले गर्ने गरेको छ ।’

यस्तै, उनले वैदेशिक रोजगारमा घाइते हुने, अपाङ्ग हुने, मृत्यु हुने अथवा अलपत्र पर्ने, जेल पर्ने जस्ता अवस्थामा उद्धार गर्ने काम वैदेशिक रोजगार बोर्डले नै गर्ने भन्दै राहत, उद्धार र कल्याणकारी कामलाई बोर्डले प्राथमिकतामा राखेको बताए ।

उनले भने, ‘विदेश जानु पूर्व सीपमूलक तालिमहरू दिने  र  घाइते हुने, अपाङ्ग हुने, मृत्यु हुने अथवा अलपत्र पर्ने, जेलमा पर्ने, एउटा काम भनेर लाने अर्को काम गराउने खालको अवस्थामा उद्धार गर्ने काम वैदेशिक रोजगार बोर्डको हो । यो चरणको हिसाबले दोस्रो चरणको काम भए पनि क्रियाकलापको हिसाबले सबैभन्दा महत्त्वपूर्ण र प्राथमिकताको हिसाबले, पहिला प्राथमिकताको काम भनेकै राहत, उद्धार र कल्याणकारी काम नै हो ।’

उनले वैदेशिक रोजगारीमा जान चाहने श्रमिकहरूले एपबाट नै पढ्न मिल्ने खालको पाठ्यक्रम निर्माणको तयारी गरिरहेको भन्दै यसलाई अलि व्यवस्थापन गर्न सके घाइते र मृत्यु हुने दर कम हुने विश्वास व्यक्त गरेका छन् । सोही अनुसारको बजेटको कार्यक्रमहरू पनि बनाएको उनको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  २२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update