
चितवन - आजदेखि चितवनमा दैनिक ६ घण्टा लोडसेडिङ सुरु भएको छ । पूर्वी चितवनमा दिनमा दुई पटक गरी ६ घण्टा लोडसेडिङ हुन थालेको हो ।
नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । अत्यधिक गर्मी र रोपाइँको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेकोले लोडसेडिङको तालिका सार्वजनिक गरेको हो ।
तालिका अनुसार नारायणी–माडी फिडरहरू : बिहान ६ः०० देखि ९ः०० र दिउँसो ३ः०० देखि ६ः०० बजेसम्म ,मेघौली–विजयनगर–शुक्रनगर फिडरहरू : बिहान ९ः०० देखि १२ः०० र बेलुका ६ः०० देखि ९ः०० बजेसम्म र जगतपुर–रामपुर फिडरहरू : दिउँसो १२ः०० देखि ३ः०० र बेलुका ९ः०० देखि १२ः०० बजेसम्म बन्द हुने छ ।
वितरण केन्द्रका अनुसार, भरतपुर १३२ / ३३ केभी सब स्टेसनबाट आउने ३३ केभी डग कन्डक्टर तारमा ३०० एम्पिएरभन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने ( क्षमताले नधान्ने) अवस्था रहेको छ । तर, अहिले विद्युत् माग बढेर सो तारमा ४५० एम्पिएरसम्म विद्युत् प्रवाह हुँदा लोड धान्न नसकेको वितरण केन्द्रले सूचनामार्फत जनाएको छ ।