Harsamaya
इन्द्रावतीमा जलवायु नेतृ विकासका लागि बिरुवा वितरण
गाउँपालिकाका वडा नम्बर ४, ५ र ६ मा गठित महिला समूहका सदस्यहरू ।

सिन्धुपाल्चोक - रोजगारीको खोजीमा युवाहरू विदेशिन बाध्य भएपछि गाउँमा रहेका महिलाहरूलाई जलवायु परिवर्तनका असरसँग एक्लै जुध्नुपर्ने अवस्था सिर्जना भएको छ। यस्तो चुनौतीपूर्ण अवस्थालाई मध्यनजर गर्दै इन्द्रावती गाउँपालिकामा जलवायु परिवर्तन अनुकूलन, महिलाहरूको नेतृत्व विकास तथा जलवायु नेतृ उत्पादन गर्ने उद्देश्यले विभिन्न प्रजातिका फलफूल तथा बहुउपयोगी बिरुवाहरू वितरण गरिएको छ।

गाउँपालिकाका वडा नम्बर ४, ५ र ६ मा गठित महिला समूहका सदस्यहरूलाई यो अभियानअन्तर्गत कुल ६ हजार १ सय ८८ वटा बिरुवाहरू वितरण गरिएको हो। जसअन्तर्गत इन्द्रावती–४ टाकुरेमा २ हजार ६६८ वटा, वडा नम्बर ६ आपचौर आदिवासी जनजाति महिला समूहलाई १ हजार ५०५ वटा र इन्द्रावती–५ नारायणस्थान आदिवासी महिला समूहका सदस्यलाई २ हजार १५ वटा बिरुवाहरू वितरण गरिएको कार्यक्रम आयोजकहरूले जानकारी दिएका छन्।

इन्द्रावती ५ मा हिजो बिरुवा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै इन्द्रावती–५ का वडाध्यक्ष शशिनाथ आचार्यले स्थानीय स्रोतको उचित प्रयोग र वातावरणमैत्री खेती प्रणालीमार्फत समुदायलाई आत्मनिर्भर बनाउन यो पहल गरिएको बताए।

नारायणस्थान आदिवासी महिला समूहकी अध्यक्ष कमला तामाङले थोरै जग्गामा बढी उत्पादन दिने ३ तले र ५ तले खेती प्रणालीलाई प्राथमिकता दिँदै आर्थिक सबलीकरणतर्फ समूह अगाडि बढिरहेको बताइन्।

बिरुवा वितरणसँगै त्यसको अनुगमनका लागि सलासन नेपालका प्रबन्ध निर्देशक कान्ता सिंह, वातावरणविद् विजय सिंह र फिल्ड संयोजक पानमाया तामाङको टोली खटिएको थियो। परियोजनाले रोपिएका बिरुवाको संरक्षणका लागि प्लास्टिक पोखरी निर्माण र घेराबार व्यवस्थापनमा सहयोग गर्ने जनाएको छ। “अब अर्को चरणमा प्लास्टिक पोखरी निर्माण र आवश्यक घेराबारको व्यवस्था गरेर बिरुवाहरूको संरक्षणमा सहयोग गरिनेछ,” परियोजनाकी सामाजिक परिचालक शिला तामाङले बताइन्।

आयोजकहरूका अनुसार यस अभियानमार्फत महिलाहरूलाई वातावरणमैत्री पहलमा जोड दिइने र गाउँस्तरमै जलवायु परिवर्तनसँग जुध्न सक्ने जलवायु नेतृ उत्पादन गर्ने दीर्घकालीन लक्ष्य राखिएको छ।

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update